दुर्घटना न्यूनीकरणका लागि ‘रेट्रो स्टिकर’

दुर्घटना न्यूनीकरणका लागि ‘रेट्रो स्टिकर’


सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरीले नेपालगन्ज–कोहलपुर सडकमा रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालेको छ ।

सडकको डिभाइडर र पोलमा रिफ्लेक्ट स्टिकर टाँस्न थालेको हो । सडक दुर्घटना न्यूनीकरणका लागि रिफ्लेक्ट (रेट्रो) स्टिकर टाँस्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख एवं प्रहरी निरीक्षक पविन्द्र बमले बताए ।

नेपालगन्ज–कोहलपुर सडकमा विशेषगरी रातिको समयमा हुने सडक दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको उनको भनाइ छ । प्रहरी निरीक्षक बमका अनुसार नेपालगन्ज–कोहलपुर सडकमा दुर्घटना बढ्न थालेपछि रिफ्लेक्ट स्टिकर टाँसिएको हो । उनले भने, ‘नेपालगन्ज–कोहलपुर सडकखण्डमा रातिको समय बढी दुर्घटना हुन थालेको पाइएकाले स्टिकर टाँसिएको हो ।’

खुला सडक, तीव्र गति, मनपरी बाटो काट्ने, जहाँ पायो त्यहीँ पार्किङ गर्ने तथा पर्याप्त लाइटिङको कमीका कारण रातको समय नेपालगन्ज–कोहलपुर सडकमा दुर्घटना हुने गरेको उनले बताए । ट्राफिक प्रहरी निरीक्षक बमले भने, ‘रिफ्लेक्ट स्टिकरले रातमा सवारीसाधन चलाउन सहजता दिए पनि यतिले मात्र सडक दुर्घटना न्यूनीकरण हुँदैन । सबैजना सचेत र सजग हुुनपर्छ ।’

सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले मात्र सम्भव नभएको बताउँदै उनले सबैको साथ र सहयोग हुनुपर्ने उल्लेख गरे । जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकअनुसार असोज १२ देखि कात्तिक २५ गतेसम्म २९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा सात जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन् । दुर्घटनामा परी दुईवटा पशुचौपायासमेत मरेका छन् ।

रासस