सीमा जोगाउन क्षत्री समाजको ज्ञापन

सीमा जोगाउन क्षत्री समाजको ज्ञापन


■ नारद कोहार, कपिलवस्तु

क्षत्री समाज नेपाल जिल्ला कार्य समिति कपिलवस्तुले सीमा जोगाउन बिहीबार (५ मंसिर) जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

पछिल्लो समय देशका विभिन्न स्थानमा सीमा मिचिएको भए पनि सरकारले ठोस ध्यान नदिएकोले कुटनीतिक आधारमा वार्ता गरी तत्काल समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

विगत लामो समय देखि नेपाल र भारतको बीचमा खासगरी तराई क्षेत्र र पश्चिमी क्षेत्रको कालापानी, लिपुलेख र लिम्पियाधुरा लगायतका भूभागमा भारतले सीमा अतिक्रमण गर्दै आएको छ । यसले हाम्रो सुमधुर सम्बन्धमा भावनात्मक असर पारेको छ ।

दुर्भाग्य मान्नुपर्छ कि लामो समयदेखि विभिन्न क्षेत्रमा सीमा रेखाहरु नाघेर भारतीयहरुबाट नेपाली भूभागहरुमाथि कब्जा जमाउने, नेपालीहरुलाई आाफ्नो घरबासबाट खेद्ने, सीमा क्षेत्रमा आग्ला बाँधहरु ठड्याएर नेपाली भूभागलाई डुबानमा पार्ने जस्ता अत्यन्त अमानवीय एवम् दुर्व्यवहारपूर्ण कार्यहरु हुँदै आइरहेका ज्ञापनपत्रमा उल्लेख छ ।

यस्तो अवस्थामा हालै मात्र नेपालको कालापानी लगायतका क्षेत्र भारतबाट प्रकाशित नक्सामा भारततर्फ राखिएको घटनाप्रति क्षत्री समाज नेपालको गम्भीर ध्यानकर्षण भएको ज्ञापनपत्रमा छ ।

ऐतिहासिक तथ्यहरुले ती भूभागहरु नेपालको भूभाग भएको कुरा स्पष्ट पर्दछ, अतः हामी शान्तिपूर्ण रुपमा सरकारले यथाशीघ्र समस्याको समाधान गरोस् भनी आव्हान गर्दछौँ । यदि यसमा ढिलासुस्ती हुन्छ र सरकारले खुट्टा कमाउँछ भने आफ्नो मातृभूमिको रक्षा एवम् राष्ट्रिय अखण्डताको लागि हामी आम क्षत्रीहरु जुनसुकै कदम उठाउन पनि पछि नपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

पटकपटक सिमा अतिक्रमण भइरहँदा समेत सरकार मौन बस्नुले भारतको हेपाहा प्रवृत्ति बढ्दै गएको क्षत्री समाजका संस्थापक नारायणबहादुर सिंहले बताए ।

ज्ञापनपत्र क्षत्री समाज नेपालका जिल्ला अध्यक्ष देवेन्द्र कुमार पोखरेल क्षत्री, केन्द्रीय सदस्य विष्णुराज टण्डन, दुर्गा केसी लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ श्रेष्ठले यथाशीघ्र सम्बन्धित निकायमा पत्र बुझाउने बताए ।