विद्युत चुहावट नियन्त्रणमा खटिएका कर्मचारीमाथि हातपात

विद्युत चुहावट नियन्त्रणमा खटिएका कर्मचारीमाथि हातपात


■ नारद कोहार, कपिलवस्तु

जिल्लामा विद्युत चुहावट नियन्त्रण गर्न हिँडेको नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रका कर्मचारीहरुमाथि दुर्व्यवहार र हातपात गरिएको छ ।

विद्युत् कर्मचारीमाथि कुटपीट गरिएपछि कपिलस्तुको सुद्धोदन गाउँपालिका–१ छपिया गाउँमा बुधबार मध्यरातमा लाइन काटेर ब्ल्याकआउट गरिएको हो । विद्युत् प्राधिकरण तौलिहवाले पूरै गाउँमा ब्ल्याकआउट गरेको यो नै पहिलो घटना भएको जनाएको छ । कर्मारीमाथि हातपात भएको ६ घन्टापछि ब्ल्याकआउट गरिएको थियो ।

प्राधिकरण कर्मचारीहरुले स्थानीय माहोम्मद युसुफ खाँ र याकुफ खाँको घरमा छापा हानेको थियो ।

बुधबार मध्यरातदेखि सो गाउँमा ब्ल्याकआउट गरिएको नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रका प्रमुख जयकुमार यादवले बताए ।

विद्युत् मिटरबाट बाइपास गरी विद्युत् चोरेको र हुकिङसमेत गरिएको फेला पारेको प्राधिकरण तौलिहवाका प्रमुख यादवले बताए । विद्युतका सुपरभाइजर राजेश कुमार पाण्डेय, हेल्परहरु हरि पनेरु, प्रवीण आचार्य हरिशचन्द्र मिश्रा र शिवलोचन यादव कुटपिटको शिकार भएका थिए ।

प्राधिकरणले युसुफ र याकुफविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छ । दुवै जनाविरुद्ध प्रहरीमा सार्वजनिक मुद्दा दर्ता गराइएको प्राधिरकरणका प्रमुख यादवले बताए । बुधबार साँझ ५ बजेतिर प्राधिकरणका कर्मचारी, सशस्त्र र नेपाल प्रहरीसहितको चुहावट नियन्त्रणको टोली छपिया गाउँ पुगेको थियो ।

उता घटनाको निन्दा गर्दै नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको निन्दा गर्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ ।