मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट

मारुती सिमेन्टको स्काभेटरमा बम विस्फोट


मारुती सिमेन्ट काराखानाको एक स्काभेटरमा अज्ञात समूहले बम विस्फोट गरेको छ । गएराति स्काभेटरमा प्रेसरकुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले दिएको जानकारीअनुसार मारुती सिमेन्ट फ्याक्ट्रीको एक स्काभेटर बमबाट पूर्ण रूपमा क्षति भएको छ । बम विस्फोटबाट अरू एक डोजर र एक टिपरमा सामान्य क्षति पुगेको छ ।

मारुती सिमन्टले सिन्धुलीको दुधौली नगरपालिका– १४ ककुरठाकुरबाट कच्चा पदार्थ लैजानका लागि सडक निर्माणका क्रममा उदयपुर र सिन्धुलीको सिमानामा पर्ने ककुरखोलामा राति रोकी राखेको स्काभेटरमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । उक्त घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए । स्काभेटरमा बम विस्फोट भएको भए पनि अहिलेसम्म कुनै समूहले पनि त्यसको जिम्मा लिएको छैन ।

यसैबीच हिजो दुधौली नगरपालिका– १३ अरुणठाकुरमा पनि निर्माण व्यवसायी छेत्रबहादुर बम्जनको एक स्काभेटरमा आगजनी भएको थियो । निर्माण व्यवसायी बम्जनले केही दिनअघि विप्लव माओवादीका कार्यकर्ता भन्दै रु. एक करोड ५० लाख चन्दा मागेको जानकारी दिए । उक्त घटनामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

दुधौली नगरपालिका तथा निर्माण व्यवसायीलाई रातको समयमा सवारीसाधन असुरक्षित हुने महसुस भएमा नजिकको प्रहरी चौकीमा राख्न आग्रह गरिएको छ ।

rss