पूर्वराष्ट्रपति महिन्दा राजापाक्ष श्रीलङ्काको प्रधानमन्त्री चयन

पूर्वराष्ट्रपति महिन्दा राजापाक्ष श्रीलङ्काको प्रधानमन्त्री चयन


श्रीलङ्काका राष्ट्रपति गोतावाय राजापाक्षले आफ्ना दाजु तथा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीका रूपमा चयन गरेका छन् ।

श्रीलङ्कामा गृहयुद्धको कारण बनेका तमिल टाइगर्स विरूद्धको लडाईमा सशक्त भूमिका खेलेका महिन्दा राजापाक्षले सन् २००५ देखि २०१५ सम्म श्रीलङ्काको राष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्गेले बुधबार पदबाट राजिनामा दिएपछि राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि महिन्दा राजापाक्षको नाम सिफारिस गरेका स्थानीय सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्रीले सन् २०२० को मार्चमा संसदीय निर्वाचन नहुँदासम्म प्रधानमन्त्रीका रूपमा काम गर्नेगरी जिम्मेवारी दिन लागिएको बताइएको छ ।

राजापाक्षको नेतृत्वमा १५ सदस्यीय कामचलाउ मन्त्रीमण्डलको गठन हुन लागेको पनि श्रीलंकाली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । नयाँ मन्त्रीमण्डलमा राजापाक्षलाई निर्वाचनमा सघाएका केही नयाँ अनुहार आउने अनुमान गरिएको छ ।

गोतावायले राष्ट्रपतिमा विक्रमासिङ्गेको समर्थन पाएका यूनाइटेड नेशनल पार्टीक सजित प्रेमादासालाई करिब १३ लाख मतले पराजित गरेका थिए ।