तनहुँमा धमाधम मर्दैछन् चितुवा !

तनहुँमा धमाधम मर्दैछन् चितुवा !


तनहुँको ब्यास नगरपालिका–१ मुसेखोलामा एक चितुवा मृत अवस्थामा फेला परेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुसेखोला नजिकैको खेतमा मृत अवस्थामा चितुवा फेला परेको हो ।

मृत अवस्थामा चितुवा देखेपछि स्थानीयवासीले डिभिजन वन कार्यालयमा खबर गरेका थिए । सात/आठवर्षको भाले चितुवा चोटपटक लागेर मरेको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख केदार बरालको भनाई छ– ‘चितुवाको ढाड भाँच्चिएको छ, सवारी साधनले ठक्कर दिएको हुनसक्छ ।’

सहायक वन अधिकृत बाबुराम उप्रेतीले जनाएअनुसार करिब ५० केजी तौलको उक्त चितुवाको छाला काटेर चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ भने शरीर वन कार्यालयको हाताभित्र नै खाडल खनेर गाडिएकोे छ ।

यही मङ्सिर २ गते पनि ब्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा चितुवाको डमरु मृत अवस्थामा फेला परेको थियो ।

जिल्लामा विगत केही वर्षदेखि चितुवाको आतङ्क छ । भानु नगरपालिकामा डेढवर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको छ भने चारजना बालबालिका घाइते भएका छन् ।

pict:rss