हिटिङ पौडी पोखरी तयार हुन अझै एक महिना लाग्ने

हिटिङ पौडी पोखरी तयार हुन अझै एक महिना लाग्ने


■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)लाई लक्षित गरी सातदोबाटोमा निर्माणाधीन हिटिङ पौडी पोखरी प्रतियोगिता सञ्चालन समयसम्ममा पनि निर्माण नहुने देखिएको छ । हिटिङ पौडी पोखरीको निर्माण अहोरात्र खटिएका कामदारसँग सम्पर्क गर्दा उनीहरुले हिटिङ पौडी पोखरीले पूर्णता पाउन अझै महिनादिन जति समय लाग्ने खुलासा गरे ।

ती कामदारले भने– ‘हामीलाई मंसिर १५ अघि नै सम्पूर्ण कार्य सम्पन्न गर्ने आदेश छ, तर काम धेरै बाँकी छ, समय थोरै छ । यस्तो अवस्थामा मंसिर १५ गते सम्पूर्ण कार्य सम्पन्न हुने कुरामा शंका छ । मलाई लाग्छ, अबको १० दिनमा काम सकिँदैन, सम्पूर्ण कार्य सम्पन्न हुन अझ एक महिनाको समय लाग्छ ।’

स्मरणीय छ, मंसिर १५ गते देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ सागका सम्पूर्ण पूर्वाधारको निर्माण कार्तिक १५ गतेसम्म भैसक्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले दाबी गरेका थिए । त्यस्तै कार्तिक १५ गते निर्माण सम्पन्न नभए मंसिर १ गते सम्पूर्ण पूर्वाद्धारको निर्माण हुने ठोकुवा गरेका थिए । त्यस्तै पूर्वाधारका कारण प्रतियोगिता सञ्चालनमा कुनै असर नपर्ने समेत खुलासा गरेका थिए । तर मंसिर १ गते पनि दशरथ रङ्गशाला भिआईपी प्यारापीट, पोखरा रङ्गशाला र हिटिङ पौडी पोखरीले पूर्णता नपाएपछि सदस्यसचिवले मंसिर १० गतेको अर्को समय थपेका थिए ।

त्यस्तै, सातदोबाटोमा आज (मंसिर ४ गते) सम्म पनि निर्माणाधीन अवस्थामा रहेको हिटिङ पौडी पोखरीको बारेमा पनि सदस्यसचिव सिलवाल प्रस्ट थिए । उनले हिटिङ पौडी पोखरी कार्तिक महिनाको अन्त्यसम्म तयार हुने र मंसिर १ गतेदेखि पौडी खेलाडीले नवनिर्मित पौडी पोखरीमा प्रशिक्षण गर्ने पौडी संघका पदाधिकारीलाई विश्वास दिलाएका थिए ।

तर आज (मंसिर ४ गते) सम्म पनि हिटिङ पौडी पोखरीले पूर्णता पाउन सकेको छैन । पौडी खेलाडीहरू अहिले पनि लिङ्कन स्कुलमा प्रशिक्षण गर्न बाध्य छन् । यथार्थमा भन्नुपर्दा अहिले पनि २५ प्रतिसत काम बाँकी छ । भरखरै पौडी पोखरीको भित्रपट्टी टायल लगाउने कार्य सम्पन्न भएको छ भने पौडीको चारैतिर टायल लगाउन बाँकी नै छ । भर्खर पूर्वपट्टीको भागमा टायल लगाउन शुरु गरिएको छ भने अन्य भागमा बाँकी नै छ । त्यस्तै हिटिङ पौडी पोखरीको बाहिरतिर टायल लगाउने सम्पूर्ण कार्य बाँकी नै छ ।

यतिबेला रङ लगाउने, झ्यालमा सिसा राख्ने, भऱ्याङमा मार्बल बिच्छाउने र टायल राख्ने कार्य भैरहे पनि अबको १० दिनमा यी कार्यले कत्तिको पूर्णता पाउँछन् त्यो भन्न नसकिने अवस्था छ । साथै हिटिङ पौडी पोखरीको निर्माणले समयमै पूर्णता नपाउँदा उक्त पौडी पोखरीमा प्रतियोगिता आयोजना हुन्छ या हुँदैन त्यसमा अन्योल उत्पन्न भएको छ ।

अब प्रश्न उठ्छ, मंसिर १ गतेको समय पनि सकिएपछि मंसिर १० गतेभित्र सम्पूर्ण पूर्वाधार तयार हुने दाबी गर्ने सदस्यसचिव सिलवाल अब आफ्नो बोलीमा कति सफल हुन्छन् त्यो हेर्न लायक बनेको छ । यदि सिलवालले मंसिर १० गतेसम्म पनि सम्पूर्ण पूर्वाधार निर्माण भएको घोषणा गर्दै नेपाल १३औँ सागको लागि तयार छ भनेर सहभागी राष्ट्रहरुमा सन्देश दिन सकेनन् भने १३औँ साग गाइजात्रे पाराले हुने पक्का छ ।