निःशुल्क आँखा शिविरमा पाँच सयभन्दा बढी लाभान्वित

निःशुल्क आँखा शिविरमा पाँच सयभन्दा बढी लाभान्वित


पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा सम्पन्न निःशुल्क आँखा परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरमा पाँच सयभन्दा बढीको परीक्षण गरिएको छ । लायन्स क्लब अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा, नेपाल रेडक्रस सोसाइटीले बेनी अस्पताल परिसरमा सञ्चालन गरेको आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा शिविर आयोजना गरेको थियो ।

गाउँपालिकाको समन्वयमा तीन दिनसम्म सञ्चालन भएको शिविरमा न्यू होराइजन आवासीय मावि बेनी, प्याराडाइज बोर्डिङ, विद्याज्योति मावि, अमृत आदर्श बोर्डिङ स्कुल मल्लाज, नवउत्साही समूह बेनीले स्वयंसेवक परिचालन गरेका थिए । आइतबारदेखि शुरु भएको शिविरमा मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजा, धाइरिङ, नागी, राम्चे र बेनीबजार आसापासका गाउँका आँखाका बिरामीले सेवा लिएका लायन्स क्लब अफ बेनी मल्लाजका द्वितीय उपाध्यक्ष विक्रम सुवेदीले जानकारी दिए ।

शिविरमा ५ सय २३ जना लाभान्वित भएका क्लबका अध्यक्ष दिनेश बानियाँले बताए । हिमालायन आँखा अस्पताल पोखराका चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा आँखा उपचार केन्द्र बेनी र मल्लाज स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले सेवा दिएका थिए । आँखा परीक्षण, परामर्श र मोतियाबिन्दुको शल्यक्रिया सेवा दिइएको हो । दुई सय पुरुष र ३१५ महिलाले सेवा लिएका छन् । आठ महिला र नौ पुरुषको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । रु. ३४ हजार ८४१ बराबरको औषधि र ६० हजार मूल्यबराबरका ३०० थान चस्मा निःशुल्क वितरण गरिएको क्लबका रवीन्द्र कँडेलले बताए ।
rss