मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमाथि गरिएको दमनप्रति राष्ट्रसङ्घद्वारा चासो

मूल्य वृद्धिको विरोधमा भएको प्रदर्शनमाथि गरिएको दमनप्रति राष्ट्रसङ्घद्वारा चासो


इरानमा पेट्रोलको मूल्य वृद्धिको विरोधमा प्रदर्शन गर्ने क्रममा दर्जनौँ इरानी मारिएको समाचारप्रति राष्ट्रसङ्घले गहिरो चासो व्यक्त गरेको छ ।

पेट्रोलको मूल्यवृद्धिविरूद्ध इरानमा गत शनिबारदेखि प्रदर्शनहरू हुँदै आएका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । विरोधका क्रममा दर्जनौँ व्यक्तिको मृत्यु भएको र एक हजार प्रदर्शनकारीलाई पक्राउ गरिएको बताइएको छ ।

स्लामिक गणतन्त्र इरानले गत बिहीबार पेट्रोलको मूल्य २०० प्रतिशतले वृद्धि भएको घोषणा गरेपछि नागरिकहरू आन्दोलित भएका हुन् ।

इरानमा अमेरिकी नाकाबन्दीका कारण आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । पेट्रोलका लागि धनी मानिने इरानले सोही वस्तुमा गरेको मूल्यवृद्धिपछि नागरिकहरू आन्दोलित बनेका हुन् ।

‘खासगरी तेलको मूल्य वृद्धिप्रति असन्तुष्टि प्रकट गर्दै विरोधमा उत्रिएका नागरिकमाथि सरकारी सुरक्षाकर्मीले गरेको दमन र यसका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्रसंघ मानव अधिकार कार्यालय गम्भीर बनेको छ,’ प्रवक्ता रूपर्ट कोलभिललाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

इरानमा प्रदर्शन शुरू भएपछि इन्टरनेट सेवा प्रयोगमा कडाई गरिएको छ जसका कारण यहाँका गतिविधि बाहिर आउन कठिनाई भएको छ ।

कोलभिलले इन्टरनेट सेवामा गरिएको नियन्त्रणका कारण प्रदर्शनमा भएका मानवीय क्षतिलाई पुष्टि गर्न कठिनाई भइरहेको बताएका छन् । ‘केही इरानी सञ्चारमाध्यम र अन्य स्रोतहरूले दिएको जानकारी अनुसार दर्जनौँ व्यक्ति मारिएका र एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ’, उनको भनाई छ ।

प्रदर्शनकारीले पेट्रोलको मूल्यवृद्धि फिर्ता गर्न भन्दै गरेका विरोध कार्यक्रमका शिलशिलामा कैयौँ पेट्रोल स्टेसन, बैङ्क तथा सार्वजनिक कार्यालय तथा तीनका सम्पत्तिलाई तोडफोड गरेका समाचारहरू बाहिरिएका छन् ।

‘इरानी अधिकारी तथा सुरक्षाकर्मीलाई शान्तिपूर्ण विरोधमा बल प्रयोग नगर्न हामी आग्रह गर्छौ ।’

कोलभिलले प्रदर्शनकारीलाई आफ्ना विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउनसमेत आग्रह गरेका छन् ।