केपी स्वस्थ हुँदा पनि पीडा !

केपी स्वस्थ हुँदा पनि पीडा !


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी पार्टीका जिम्मेवार नेताहरूलाई गराउनुभएपछि एकथरी नेताहरूमा ‘विष्मयको अवस्था’ देखापरेको छ । तीन साताअघि ग्रान्डी अस्पतालमा भर्ना हुँदा वास्तविक स्थिति बुझ्न हस्याङफस्याङ गर्दै पुग्नुभएका प्रचण्ड चिकित्सकहरूका अनौपचारिक कुराबाट र केपीको अवस्था देखेर ‘सन्तुष्ट’ हुनुभएको थियो ।

प्रचण्डले आफ्नो लगानीका सञ्चारमाध्यमहरूबाट केपीको स्वास्थ्यस्थिति अत्यन्त नाजुक रहेको प्रचार निरन्तर गराउँदै आउनुभएको छ । एउटा दैनिक पत्रिकाले त प्रधानमन्त्रीको स्वास्थ्य अवस्था नाजुक भएको भनी प्रचार गर्ने ठेक्का नै लिएजस्तो देखिएको छ । प्रचण्डको वास्तविक नियत र मनोविज्ञान बुझ्नुभएका केपी ओलीले आफूलाई खास कुनै समस्या नरहेको र दश–प्रन्ध वर्ष अझै केही नहुने भनी प्रचण्डलाई ‘तड्पाउने’ पनि गर्नुभएको छ ।

त्यसो त केपी ओलीको आत्मविश्वास देखेर चिकित्सकहरूसमेत आश्चर्यचकित भएका छन् । तर, ओली भने आफू बाल्यकालदेखि नै रोगी भएको र जीवनमै पूर्ण स्वस्थ कहिल्यै महसूस नगरेकोले बिरामी हुने कुरालाई सामान्य रूपमा लिनुहुन्छ । यसै साताको प्रारम्भमा बसेको पार्टी सचिवालय बैठकमा पनि उहाँले आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी गराउनुभएको थियो । अघिल्लो दिन ‘सामान्य परीक्षणका निम्ति ग्रान्डी अस्पताल पुगेको र डाक्टरहरूले डायलाइसिस गरौँ भनेर मात्र गरिदिएको’ भनी केपीले बताउनुहुँदा बैठकमा सहभागीहरू छक्क परेका थिए ।

प्रधानमन्त्रीको उपचार नेपालमा नभए चीनमा !

ओलीविरुद्ध फेरि मोर्चा कस्दै प्रचण्ड

उहाँले आफू नयाँ मिर्गाैला राख्ने सोचमा रहेको सङ्केत दिनुभएपछि सचिवालयका एक सदस्यले नयाँ मिर्गाैला राख्ने प्रक्रिया र त्यसपछि लिनुपर्ने आरामीका बारेमा जिज्ञाशा राखेका थिए । प्रधानमन्त्री ओलीले ‘त्यस्तो ठूलो प्रक्रिया केही हुन्न, यो सामान्य कुरा हो, तीन–चार दिन आराम गरे पुगिहाल्छ’ भन्ने जवाफ दिनुभएपछि प्रचण्डको अनुहार हेर्न लायक बनेको थियो ।

सचिवालय बैठकमा सहभागी हुन जानुभन्दा दुई दिन अगाडिदेखि नै प्रचण्डले आफूलाई कार्यबाहक अध्यक्षका रूपमा एकलौटी ढङ्गले काम गर्न दिइने प्रचार गराउनुभएको थियो । तर, केपीले आफ्नो स्वास्थ्यस्थिति सामान्य रहेको, मिर्गौला प्रत्यारोपण कार्य जोखिमयुक्त नभई सामान्य भएको र आरामी पनि तीन–चार दिन मात्र गरे पुग्नेजस्ता कुराहरू बताउनुभएपछि प्रचण्ड एकप्रकारले निराश, दुःखी र क्रूद्ध बन्नुभएको छ ।

कसैको जीवन र स्वास्थ्यको विषय राजनीतिक महत्वको बन्न सक्ने भए पनि यसरी सम्बद्ध पात्रलाई ‘को–को व्यक्ति आफ्नो मृत्यु चाहन्छन्’ भन्ने थाहा हुनु र सोहीअनुरूपको संवाद हुनुचाहिँ दुर्लभ घटना मानिन्छ । सत्तरी वर्ष नाघिसकेका बेलायती युवराज चाल्र्स बरु सय वर्ष पुग्नै लागेकी आफ्नी आमा (महारानी एलिजाबेथ) को स्वास्थ्यस्थितिप्रति चिन्ता प्रकट गर्छन् र आमाको दीर्घायु कामना गर्ने गर्दछन् । तर, प्रचण्डमा केपीको दीर्घायु कामना गर्ने मानसिकता देखिएको छैन । प्रचण्डको यही मनोविज्ञान बुझेर केपीले पनि ‘राम्रैसँग जवाफ दिने’ गर्नुभएको छ ।