अफगानी तालिवान विद्रोहीले सन् २०१६ मा अपहरण गरी बन्दी बनाइराखेका दुई प्राध्यापक रिहा भएका छन् । तालिवान समूहले अमेरिकी प्राध्यापक केभिन किङ र अष्ट्रेलियाली टिमोथी वीकलाई मङ्गलबार रिहा गरेको अफगानी तालिवान समूह तथा अफगानी प्रहरीले पनि पुष्टि गरेको एएफपीले जनाएको छ ।
अमेरिकी प्राध्यापक किङ र अष्ट्रेलियाली टिमोथीलाई विहान १० बजे अफगानिस्तानको जाबुल प्रान्तको नावबहार जिल्लाबाट रिहा गरिएको हो । मुक्त गरिएका दुवै जना अमेरिकी हेलिकोप्टरमा चढी जाबुलबाट उडेका थिए ।
उनीहरूको रिहाईबारे अफगानिस्तानस्थित अमेरिकी राजदूतावासले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन । तर अफगानी प्रहरी र तालिवानका विभिन्न तीन समूहले ती दुई पश्चिमी मुलुकका प्राध्यापक रिहा भएको बताएका छन् ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवान लडाकू समूहले बन्धक बनाइराखेको दुई जना व्यक्तिसँग आफ्नो सरकारले बन्दी बनाउँदै आएका तीन तालिवानी लडाकूसँग सट्टापट्टा गर्न लागेको गत मंगलबार पत्रकारहरूलाई जानकारी दिनुभएको थियो ।
सन् २०१६ को अगस्टमा अमेरिकन युनिभर्सिटी अफ अफगानिस्तानमा अध्यापनरत प्राध्यापकद्वय अमेरिकी केभिन किङ र अस्ट्रेलियाली टिमोथीलाई तालिवान समूहले अपहरण गरेको थियो ।
अफगानिस्तानको राजधानी काबुलस्थित आफ्नो विश्वविद्यालयमा पढाएर बाहिर निस्केका ती दुई प्राध्यापकलाई बन्दुकधारीहरूको एक समूहले जबर्जस्ती एउटा सवारी साधनमा राखेर लगेको थियो ।
उनीहरूलाई अपहरणपछि पहिलो पटक सन् २०१७ को जनवरीमा एउटा भिडियोमार्फत सार्वजनिक गरिएको थियो । त्यस भिडियोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई तिनीहरूको सकुशल रिहाइका लागि निश्चित सम्झौतामा सहमति जनाउन आह्वान गरिएको थियो ।
प्रतिक्रिया