मरेको कुखुराको मासु खाँदा एकै परिवारका एकको मृत्यु, नौ बिरामी

मरेको कुखुराको मासु खाँदा एकै परिवारका एकको मृत्यु, नौ बिरामी


बैतडीमा मरेको कुखुराको मासु खाँदा मंगलबार एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–२ जरसौँकी १५ वर्षीया पुष्पा पार्की रहेकी छिन् । मासु खाँदा एउटै परिवारका नौजना बिरामी भएका छन् ।

शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीयवासी केशव पन्तले जानकारी दिए । मासु खाएपछि बान्ता हुने, झाडापखालालगायतका लक्षण देखिएको थियो । शनिबार रातिदेखि नै बिरामी परेकी पुष्पाको मंगलबार घरमै मृत्यु भएको हो । मासु खाएपछि ७० वर्षीया पार्वती पार्की, ३३ वर्षीया गंगा, आठ वर्षीय राकेश, ३५ वर्षीया जानकी, १२ वर्षीय मनोज, १० वर्षीय रमेश, ६ वर्षीय भुवन, ६ वर्षीय रुपेश र ४ वर्षीया सपना बिरामी भएका छन् ।

उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले औषधि दिए पनि निको नभएपछि थप उपचारका लागि हाट स्वास्थ्य चौकी लगिएको महादेवस्थान स्वास्थ्य चौकीकी अहेव राधिका कुँवरले जानकारी दिइन् ।