विश्वकप छनोट खेलमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोट खेलमा कुवेतसँग नेपाल पराजित


कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल कुवेतसँग पराजित भएको छ । भूटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भएको हो ।

खेलको २८औँ मिनेटमा कुवेतका कप्तान बदर अल अलमोतवाले गोल गरे । उनले गरेको गोल नै कुवेतका लागि निर्णायक साबित भयो । उक्त खेलमा नेपालका भरपर्दा चार खेलाडीको उपस्थिति थिएन ।

भूटान जाने अघिल्लो रात मुख्य स्ट्राइकर विमल घर्ती मगर, अञ्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशी ठमेलको नाइट क्लबमा गएको पाइएपछि उनीहरूलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले अनुशासन कारवाहीस्वरुप निलम्बन गरेको थियो ।

विश्वकप छनोटमा यसअघि चार खेल खेलको नेपालले एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको थियो । नेपाल कुवेतसँगको पहिलो खेलमा ७–० गोलले पराजित भएको थियो ।

यस्तै नेपालले चाइनिज ताइपेईलाई २–० ले गोलले हराएको थियो भने अष्ट्रेलियासँग ५–० गोलले र जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । कुवेतले भने अष्ट्रेलियालाई ३–०, जोर्डनसँग गोलरहित बराबरी र चाइनिज ताइपेईलाई ९–० गोलले पराजित गरेको थियो । दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुन नसकेको भन्दै नेपाल र कुवेतले न्युट्रल भेन्युका रुपमा पहिलो होम खेल भूटानमा खेलेको हो ।