उपनिर्वाचनका लागि कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

उपनिर्वाचनका लागि कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक


यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज (३ मंसिर) आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका युवाविद्यार्थीका बीच ‘नेपाली कांग्रेसको आह्वान’ सार्वजनिक गरेका हुन् ।

‘भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षाविरुद्ध हाम्रो अभियान’ नारासहितको २२ पृष्ठको प्रतिबद्धतापत्रमा प्रतिपक्षीका रूपमा पार्टीको २१ महिना, कांग्रेसको नेतृत्वमा भएको ऐतिहासिक उपलब्धि, वर्तमान सरकारले २१ महिनामा गर्न नसकेका कामलगायत विषय समेटिएका छन् ।

यस्तै, प्रतिबद्धतापत्रमा कांग्रेसका संस्थापक बिपी कोइरालाको कार्यकालदेखि गणतन्त्रसम्म कांग्रेस नेतृत्वको सरकारले गरेका आर्थिक, समाजिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भएका प्रगतिका बारेमा विस्तृत उल्लेख गरिएको छ । प्रतिबद्धतापत्रमा राष्ट्रियताको प्रश्न, संविधानप्रति अपनत्वको दायरा विस्तार, निर्मला प्रकरण, मूल्यवृद्धि, वाइडबडी छानबिन प्रकरण, बूढीगण्डकी आयोजना, चिकित्सा शिक्षा, प्रेस स्वतन्त्रता, गुठी विधेयक, बालुवाटारकाण्डलगायत २१ प्रकरणमा वर्तमान सरकार असफलता भएको समेत उल्लेख छ ।

नेपाली कांग्रेसले औंल्याएको सरकारका २१ असफलता यसप्रकार छन्-

१) राष्ट्रियताको प्रश्नमा असफलता
२) संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
३) सत्ताको सैद्धान्तिक चरित्र निर्क्यौलमै असफलता
४) संघीयताका बाँकी कार्यभार पूरा गर्नमा असफल
५) कूटनीतिक मामिलामा अपरिपक्वता
६) विप्लव प्रकरण : असफलताको फरक पाठ
७) शान्ति सुरक्षा : निर्मला प्रकरणमा हरायो सरकार
८) मूल्य वृद्धि : धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
९) वाइडबडीलगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
१०) बूढी गण्डकी : कम्युनिस्ट सरकारको राष्ट्रघात
११) मेलम्ची परियोजनामाथि खेलबाड
१२) निजगढ एयरपोर्टको भविष्य अन्यौल
१३) चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
१४) सरकारको नियतले असफल संवैधानिक परिषद्
१५) शब्दमा प्रेस स्वतन्त्रता व्यवहारमा नियन्त्रण
१६) धर्मको प्रश्नमा होली वाइन प्रकरण
१७) गुठी विधेयक : जनशक्तिले झुकाएको सत्ता
१८) सामाजिक सुरक्षा कोष : कर्म कसैको, प्रचार कसैको
१९) बालुवाटार काण्डमा लिलाम नैतिकता
२०) कम्युनिस्ट पार्टी उकालो लाग्दा शेयर बजार ओरालो
२१) असहिष्णु अभिव्यक्ति : अराजनैतिक चरित्र

pict:rss