२१ हजार घुससहित कार्यवाहक वडाध्यक्ष पक्राउ

२१ हजार घुससहित कार्यवाहक वडाध्यक्ष पक्राउ


मोरङको जहदा गाउँपालिका–१ का कार्यवाहक वडाध्यक्ष घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

कार्यवाहक वडाध्यक्ष उमेशकुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले मंगलबार घुस रकम २१ हजारसहित वडा कार्यालयभित्रैबाट पक्राउ गरेको हो ।

अख्तियारले ठेकेदारसँग २ लाख रुपैयाँको सडक स्तरोन्नतिको योजना सम्झौताका लागि २१ हजार घुस लिएको आरोपमा साहलाई पक्राउ गरेको हो ।

अख्तियारका अनुसार साहले योजनाको सम्झौतामा १० प्रतिशत घुस मागेपछि सोमबार हुने भनिएको योजनाको सम्झौता हुन सकेको थिएन । मंगलबार सम्झौताका लागि आएका ठेकेदारसँग एक दिन ढिलो आएको भन्दै १० प्रतिशतमा थप एक हजार गरी २१ हजार घुस लिएका थिए ।

विराटनगर–१४ का समानन्द यादवको हत्या गरेको आरोप लागेपछि जहदा गाउँपालिका–१ का वडाध्यक्ष प्रदीप यादव उमेशकुमार साहलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी दिएर फरार भए छन् । त्यसपछि साहले नै वडाध्यक्षको रूपमा काम गर्दै आएका छन् ।