मधुमेह : संसारभर घरघरकी कहानी, नियन्त्रण आफ्नै हातमा

मधुमेह : संसारभर घरघरकी कहानी, नियन्त्रण आफ्नै हातमा


आजभोलि कम उमेरका मानिसमा पनि मुटुरोग, मधुमेह, उच्च रक्तचापजस्ता रोगहरू लाग्न थालेको छ ।

‘त्यसका कारणहरू हाम्रै हातमा छन्,’ जनस्वास्थ्य विज्ञहरू भन्छन्, ‘हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन् । हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा रहेको हो ।’

उनीहरूका अनुसार जीवनशैलीसँग जोडिएका कुराहरू सबै मधुमेह रोगसँग मात्रै नभई मृत्युको जोखिम निम्त्याउने अरू कारणसँग पनि अन्तरसम्बन्धित छन् ।

सन् २००५ मा मृत्युका प्रमुख कारणमध्ये ११औँ स्थानमा रहेको मधुमेह सन् २०१६ मा छैटौँ स्थानमा उक्लेको एक अध्ययनले देखाएको छ । हामीलाई थाहा छ सानैदेखि ‘ब्यालेन्स डाइट’ (सन्तुलित भोजन) गर्नुपर्छ भनेर सबैले पढ्दै आएको हो । तर, ‘सन्तुलित भोजन’ ग्रहण नगरेका कारण मानिस विभिन्न रोगबाट ग्रसित हुँदै आएको छ । मीठोमीठो खानेकुरा खाने नमिठो नखाने मानिसको प्रवृत्ति, उसको कार्यव्यस्तता आदि कारणले अस्वस्थ्यकर खाना खाइरहेका छन् ।

हाम्रो समाजमा पनि केही दशकदेखि मधुमेह एक जटिल तथा घरघरका समस्याका रूपमा विस्तार हुँदै आएको छ । नेपाल मधुमेह समाज स्थापनाको ५० वर्षमा मधुमेहका रोगी घट्नुको साटो बढ्दै गएको छ । अंग्रेजी भाषामा ‘डाइबिटिज’ भनिने यस रोगलाई नेपालीमा ‘मधुमेह’ वा ‘चिनी रोग’का रूपमा चिनिन्छ ।

नेपाल मधुमेह समाजका अनुसार विश्वका प्रत्येक ११ व्यक्तिमध्ये एकजनामा मधुमेह रोग लागेको पाइएको छ । मधुमेहका कारण प्रत्येक ६ सेकेन्डमा एकजनाको मृत्यु हुने गरेको छ । सन् २००० मा विश्वमा मधुमेहीको संख्या १७ करोड १० लाख रहेकामा सन् २०१७ को अन्तसम्ममा यो संख्या बढेर ४२ करोड ४८ लाख पुगेको छ ।

चिकित्सकका अनुसार भारत र चीनमा सबैभन्दा बढी चिनी रोगी (मधुमेह) छन् । नेपालमा ४० वर्षमाथि उमेरका तीनजनामध्ये एकजनामा सुरुवाती मधुमेह हुने गर्दछ । काठमाडौंमा गरिएको सर्वेक्षणमा ६० वर्ष उमेरमाथिका चारजनामध्ये एकजना यो रोगबाट ग्रसित रहेका छन् । हालसम्म नेपालमा नौ लाख मानिस मधुमेहबाट प्रभावित रहेको तथ्यांक छ ।

मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. प्रदीपकुमार श्रेष्ठका अनुसार मानिसको शरीरभित्र रहेको प्यांक्रिज नामक अंगले नियमित रूपमा ‘इन्सुलिन’ निकाल्ने काम गर्दछ । यही ‘इन्सुलिन’मार्फत व्यक्तिको शरीरभित्र रहेको चिनी शोषण गरी रक्तनलीमार्फत शरीरका विभिन्न अंगभित्र पठाउँछ । इन्सुलिनले प्रभावकारी अथवा राम्ररी काम गर्न नसकेको अवस्थामा शरीरभित्र रहेको चिनी रक्तनलीको कोसिकामा पस्न नसकी शरीरमा रहेको रगतमा चिनी जम्मा हुनुलाई नै चिकित्सकको भाषामा ‘डाइबिटिज’ (मधुमेह) भनिन्छ ।

डा. श्रेष्ठ भन्छन्, ‘प्यांक्रिजले पर्याप्त इन्सुलिन नबनाउने र लिभरले सुगर (चिनी) बढी निकाल्ने (फाल्ने) ‘डाइबिटिज’को शुरु लक्षण हो । यस्तो अवस्थामा चिनी रगतमा जम्मा भई लिभरले रगतमा चिनी नै चिनीले भरिदिने काम गर्दछ ।’

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार कार्बोहाइड्रेटले इन्सुलिन बढी निकाल्ने तथा मानिसले दिनदिनै भात खाँदा दैनिक इन्सुलिन निकाल्छ ।

विश्वमा सन् १९७० पछि डाइबिटिज महामारीको रूपमा शुरु भयो । सन् १९७५–२०१५ का बीच विश्वमा मोटोपना २.७८ प्रतिशतले वृद्धि भयो । वंशाणुगत गुणका कारण पनि मधुमेहको रोगी बढेको पाइन्छ ।

हाडजोर्नी विशेषज्ञ शैलाज रञ्जितकारले भने, ‘हाम्रो शरीरमा रगत जाने नशा टाउकादेखि पैतालासम्म फैलिरहेका हुन्छन् । मानिसको खुट्टामा डाइबिटिज भयो भने खुट्टामा इन्फेक्सन हुने, हड्डी बिग्रने हुन्छन् । त्यसकारण बिरामी सतर्क हुनुपर्छ र समयमा नै चिकित्सककहाँ पुग्नुपर्छ ।’ उनका अनुसार मानिसको पाइतालामा धेरै स–साना हड्डी हुन्छ । नशामा रगतको आपूर्ति राम्रो भएन भने संक्रमण हुन्छ र रगत जाने नशालाई संक्रमणले खाइदिन्छ ।

तिलगंगा अप्थाल्मोलोजी इन्स्टिच्युटका नेत्ररोग विशेषज्ञ इलि प्रधानले हरेक व्यक्तिले समयसमयमा आँखाको जाँच गर्नुपर्नेमा जोड दिँदै विश्वका आँखा रोगीमध्ये ५ प्रतिशत मधुमेहका कारण सदाका लागि आँखाको दृष्टि गुमाउने गरिएको जानकारी दिए ।

आँखाका रोगी समयमा नै अस्पताल पुगेर चिकित्सा सेवा लिएमा ९० प्रतिशत आँखाका ज्योति बचाउन सक्ने बताउँदै उनले ढिलो गरी अस्पताल पुगेका बिरामीको आँखाको दृष्टि बचाउन नसक्ने बताए । उनले चस्माको पावर छिटोछिटो बढ्नुका कारणमा मधुमेहको लक्षण पनि भएको बताए ।

चिकित्सकहरूका अनुसार, विलासी जीवनशैली र खानपानमा गरिने लापरबाहीका कारण मधुमेहसँग सम्बन्धित समस्या बढेका छन् ।

खाद्य प्रविधिविज्ञ आलोक श्रेष्ठ भन्छन्, ‘कारणहरू हाम्रै हातमा छन् । हाम्रो जीवनशैलीसँग जोडिएका कुरा छन् । हाम्रो आनाबानी, रहनसहन, खानपानका कुरा, व्यायाम नगर्ने र अर्को ठूलो समस्या तयारी खानेकुरा हो ।’

मानवशरीरमा पोषण प्रदान गर्ने खालका खानाका लागि प्रयोगमा आउने सबै प्रकारका वस्तुलाई खानाका रूपमा खाद्यप्रविधिले परिभाषित गरेको उनी बताउँछन् ।

मानिसले खाने भात तथा रोटीमा कार्बोहाइड्रेट हुने र यसबाट ग्लुकोज निर्माण गर्ने जानकारी दिँदै प्यांक्रिजबाट इन्सुलिन तयार हुने उनले जानकारी दिए ।

हाम्रो जीवनशैलीमा आएको परिवर्तनका कारण मःम, चाउमिन, चाउचाउ, बिस्कुट तथा पिज्जा, कटिरोलजस्ता आकर्षक खाद्यवस्तुको प्रयोगमा वृिद्ध हुँदै आएको छ । यसले मधुमेह रोग बढाउनमा सहयोग गर्छ । त्यसैले हरेक व्यक्तिले खानपानमा परिवर्तन ल्याउन आवश्यक भएको स्वास्थ्य क्षेत्रका विज्ञले जोड दिँदै आएका छन् ।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी मधुमेह रोग लागेका व्यक्तिले विशेष गरेर ग्लुकोजयुक्त वा सजिलै ग्लुकोजमा परिणत हुने खालको खानेकुराको सेवनमा कमी ल्याउनुपर्ने सुझाव दिन्छन् । त्यस्तै कोलेस्ट्रोलयुक्त खाना कम गर्ने र रक्तचाप नियन्त्रण गर्नुपर्छ । नेचुरल फुड अर्थात् पोलिस नगरिएका चामल, फलफूल तथा सागसब्जीको प्रयोगलाई बढाउनुपर्छ ।

मधुमेह भएका मानिसले थोरैथोरै गरेर दिनको ६ पटक खाना खानुपर्ने डाक्टर रेग्मी बताउँछन् । किड्नीलाई भार पर्न नदिन प्रोटिन र कार्बोहाइड्रेटको मात्रा मिलाएर खाना खानुपर्छ । प्लान्ट ओरिजिनबाट बनेका तेलमा कोलेस्ट्रोल हुँदैन । एनिमल ओरिजिन फुडमा कोलेस्ट्रोल हुन्छ ।

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मधुमेहले शरीरका आन्तरिक अंग आँखा, मुटु, मिर्गाैला तथा दिमागलाई हानि गर्छ भन्ने कुरा धेरैलाई थाहा नभएको बताउँदै रक्तचाप, मोटोपन आदि मधुमेहसँग जोडिएर आउने रोग भएको बताए ।

उनका अनुसार मधुमेहले व्यक्तिको शरीरभित्र रहेको रगतलाई बाक्लो बनाइदिन्छ । यसले रक्तनलीको भित्री भागलाई बिगारिदिने तथा रक्तनलीमा कोलेस्ट्रोल डिपोजिट गरिदिन्छ ।

चिकित्सकका अनुसार के खान हुन्छ के खान हुँदैन

अण्डा : व्यक्तिले अण्डाको पहेँलो भाग (कोलेस्ट्रोल) खान हुन्छ । व्यक्तिले खाद्यवस्तुको प्रयोग गरी खाएको कोलेस्ट्रोलको २० प्रतिशत मात्र रगतमा जम्मा हुन जान्छ । दैनिक मानिसले प्रयोग गरिने चामल, मैदा, आँप आदिमा कोलेस्ट्रोल हुन्छ । एक स्वस्थ व्यक्तिले दिनको एक पहेँलो भागसहितको अण्डा खान सकिन्छ । तर, असन्तुलित रूपमा धेरै खान नहुने चिकित्सकको सल्लाह छ ।

रसबरी :  मधुमेह भएका मानिसले पनि मात्रा मिलाएर रसबरी खान मिल्छ । खानै नहुने भन्ने होइन– डा. रेग्मी भन्छन् ।

रातो मासु–सेतो मासु ः परिवारमा व्यक्तिले राँगाको मासु (मटन) हप्तामा दुई दिन खान सकिन्छ । तर, सेतो मासु भन्दैमा असन्तुलित रूपमा धेरै मासु खाएमा शरीरलाई हानि गर्दछ ।

घ्यू :  घ्यू भातमा अलिकति राखेर खाने गर्नुपर्छ । घ्यूमा तारेर खानुहुँदैन । एक चम्चा घ्यू खान सक्नुहुन्छ । फाइवर प्रसस्त भएको हरियो सागपात खानुपर्छ ।

रोटी ः आँटाको रोटीमा अलि कति घ्यू लगाई दियो भने सुगर घटाउँछ । हप्तामा दुई दिन माछा पकाएर खान डा. रेग्मीको सुझाव छ । मानिसले रक्सी सेवन गर्दा रगतमा चिनीको मात्रा कम हुन जान्छ । त्यसैले मात्रा मिलाएर थोरै रक्सी सेवन गर्न सकिन्छ ।
रासस