अवैध हतियार राखेको अभियोग लागेका तरुणदलका नेता जेल चलान

अवैध हतियार राखेको अभियोग लागेका तरुणदलका नेता जेल चलान


नेपाल तरुण दल नेपालगञ्जका नगरसभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । अवैध हतियारसहित पक्राउ परेका शाह प्रहरी हिरासतमा थिए भने सोमबार (२ मंसिर) जिल्ला अदालत बाँकेले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार शाहसँगै पक्राउ परेका अन्य तीन जनालाई चाहिँ एक लाख ५० हजार धरौटी माग गरिएको छ । सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

गत कात्तिक १४ गते राति साढे ८ः०० बजे बाँकेको जानकी गाउँपालिका–६ गनापुरमा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई पक्राउ गरिएको प्रहरीको दाबी रहँदै आएको छ भने प्रहरीले झुठो आरोप लगाएर आफ्ना कार्यकर्ता फसाएको तरुण दलको आरोप छ ।