गोरु काटेर खाएको अभियोगमा चार पक्राउ

गोरु काटेर खाएको अभियोगमा चार पक्राउ


गोरु काटेर खाएको आरोपमा बागलुङको काठेखोला गाउँपालिका–१ पालाबाट चार जना पक्राउ परेका छन् । साविकको पाला गाविस–४ को चिहानडाँडा भन्ने स्थानमा गोरु काटेर खाएको अभियोगमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान पक्राउ परेका हुन् ।

पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको छ । प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईका अनुसार उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानसमेत भइरहेको छ ।

यसैबीच नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् ।बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका नन्दराम थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालतबाट फरार सूचीमा रहेका थापाउपर पक्राउ पुर्जीसहितको म्यादसमेत जारी भएको थियो ।