नक्साको विरोधमा जापानमा ऱ्याली र ज्ञापनपत्र

नक्साको विरोधमा जापानमा ऱ्याली र ज्ञापनपत्र


■ विशेष प्रतिनिधि, टोकियो (जापान)

हालै भारतले जारी गरेको राजनीतिक नक्सामा नेपालको अभिन्न भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएकोप्रति गैरआवासीय नेपाली संघ (जापान)को अगुवाइमा जापानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले आज (२ मंसिर) टोकियोमा शान्तिपूर्ण विरोध ऱ्यालीसहित ज्ञापनपत्र बुझाएका छन् ।

एनआरएनए आईसीसीको निर्णयअनुसार नक्साको विरोधस्वरुप एनआरएनए जापानको संयोजनमा आज भारतीय दुतावासअघि भेला भई शान्तिपूर्ण ऱ्याली तथा ज्ञापनपत्र वाचन गरी सुनाइएको हो ।

लिखित ज्ञापनपत्र बुझाउने प्रयास भए पनि दुतावासले आन्तरिक नियम भन्दै लिखित ज्ञापनपत्र भने बुझ्न अस्विकार गरेको छ । यसरी प्रत्यक्ष रुपमा लिन अस्विकार गरे पनि हुलाकमार्फ़त पठाउन मिल्ने र हालसम्म त्यही प्रावधान प्रचलनमा रहेको भन्ने जानकारी गराइएअनुसार आज नै दुतावासको ठेगनामा ज्ञापनपत्र प्रेसित गरिएको छ । ब्यानर तथा नेपाली राष्ट्रिय झण्डासहित उपस्थित नेपाली समुदायले केही क्षण भारतीय ज्यादतिविरुद्दमा नाराबाजी समेत गरेका थिए ।

गैरआवासीय नेपाली संघ आईसीसी कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारी, वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, महासचिव जनकविक्रम शाही लगायतका पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले तथा अन्य राजनीतिक भातृसंठनका प्रतिनिधि एवं विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको विरोध प्रदर्शनमा उपस्थिति रहेको थियो ।