‘साग’को टेलिभिजन प्रशारण अधिकार एनके मिडियालाई

‘साग’को टेलिभिजन प्रशारण अधिकार एनके मिडियालाई


नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को टेलिभिजन प्रसारण अधिकारसम्बन्धी सम्झौता भएको छ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)ले तीन पक्षसँग टेलिभिजन सम्झौतासम्बन्धी पत्रमा हस्ताक्षर गरेको छ । एसएओसी र भारतको टेलिभिजन कम्पनी एनके मिडिया भेन्चर प्रालिबीच प्रशारण अधिकारसम्बन्धी सम्झौता भएको हो ।

एसएओसी तथा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र एनके मिडिया भेन्चरका सिएमजी प्रभात रञ्जन मल्लिकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार प्रशारण अधिकारवापत उक्त कम्पनीले एसएओसीलाई ८ करोड रुपैयाँ प्रदान गर्नेछ । त्यसवापत एनके मिडिया सम्पूर्ण खेलको प्रत्यक्ष प्रशारण गर्नेछ । त्यसैगरी, एनके मिडियाले ल्याउने विज्ञापनको ५० प्रतिशत एसएओसीले पाउने छ ।

एनके मिडियाले नेपाली दर्शकका लागि नेपाल टेलिभिजनमार्फत सबैको खेलको प्रत्यक्ष प्रसारण गर्नेछ । यसका लागि एनके मिडियाले नेपाल टेलिभिजनसँग सहकार्य गर्ने बताइएको छ । एनके मिडियाले प्रतियोगितामा सहभागी सातै राष्ट्रमा १५ टिभी च्यानलद्वारा साग खेलकुदको प्रत्यक्ष प्रसारण गर्ने बताइएको छ ।

दोश्रो सम्झौता एसएओसी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको छ । जसअनुसार एसएओसीले प्रशारण–अधिकारी र विज्ञापनवापत पाउने रकमको ५० प्रतिशत राखेपले प्राप्त गर्ने छ । राखेप आफैले ल्याउने विज्ञापनमा भने कसैको अधिकार हुने छैन । तेश्रो सम्झौता एसएओसी र एजेन्ट कम्पनी फिस्कल एजेन्टका प्रतिनिधि प्रियानाथ चट्टोपाध्यायसँग भएको छ । उक्त एजेन्ट कम्पनीले प्रशारण र विज्ञापन वापतको कमिसन प्राप्त गर्नेछ ।

सम्झौता कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) तथा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले यस प्रसारण–सम्झौतालाई ऐतिहासिक भनेका छन् । ‘साग खेलकुद नेपालबाटै सुरु भएको हो र साग खेलकुदको प्रसारण अधिकारको प्रारम्भ पनि नेपालबाट नै हुँदैछ । ओलम्पिकले पनि खेलको प्रसारण अधिकार बिक्री गरेपछि फड्को मारेको हो । अहिले ओलम्पिक आयोजनाका लागि कडा प्रतिस्पर्धा हुन्छ । एसियाली खेलकुदमा पनि प्रसारण अधिकारका लागि हानथाप हुन्छ । अब नेपालबाट साग खेलकुदमा पनि यसको सुरुवात भएको छ’– एनओसी अध्यक्ष श्रेष्ठले भने ।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले पनि यो एक ऐतिहासिक सम्झौता भएको दाबी गरे । यो एउटा नौलो प्रयास भएको र नेपालमा भएको साग खेलकुद हामीकहाँ मात्र सीमित नहोस् भन्ने यस सम्झौताको उद्देश्य रहेको उनको प्रष्टोक्ति छ ।

त्यस्तै, नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका एसएओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले प्रशारण अधिकारी र विज्ञापनबाट प्राप्त रकम नेपाली खेलकुदको विकास कार्यक्रममा उपयोग गर्ने बताए । उनले भने– ‘काउन्सिलले प्राप्त आम्दानी नेपाली खेलकुद र खेलाडी हितमा प्रयोग गरिने छ ।’

यसैगरी एनके मिडियाका सीएमडि मलिकले साग जस्तो प्रतियोगिताको प्रसारण गर्न आफ्नो कम्पनीलाई विश्वास गरेकोमा नेपाल सरकार र दक्षिण एसियाली ओलम्पिक काउन्सिललाई धन्यवाद दिँदै सो विश्वासमा न्याय गर्ने बताए । उनले सागको सातै राष्ट्रमा १३ औँ सागको प्रत्यक्ष प्रशारण हुने बताए । सागमार्फत् आफ्नो संस्थाले नेपालको बारेमा सकारात्मक सबै कुराहरु विश्वभर फैलाउने पनि उनले बताए ।

प्रशारण अधिकारको सम्झौतापछि अब कुनै पनि मिडियाले भिडियोको प्रत्यक्ष प्रशारण गर्न पाउने छैन । एनके मिडिया सीएमडि मलिकले खेललगत्तै मिडियाका लागि भिडियाहरु उपलब्ध गराइने जानकारी दिए । त्यस्तै, एक्रिएडेटेड फोटो पत्रकारले भने फोटो खिच्न पाउने मलिकले बताए ।

स्मरण रहोस्, पहिलोदेखि १२औँ ‘साग’सम्म प्रशारण अधिकार कुनै विदेशी टेलिभिजनलाई दिइएको थिइएन ।