दिङ्लाको पाठशालामा पुनः संस्कृत अध्यापनको माग

दिङ्लाको पाठशालामा पुनः संस्कृत अध्यापनको माग


विसं १९३२ मा भोजपुरको दिङ्लामा बालागुरु षडानन्द अधिकारीले स्थापना गर्नुभएको संस्कृत पाठशालामा पुनः संस्कृत अध्ययन अध्यापनको वातावरण बनाउन माग गरिएको छ र

नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले आइतबार (१ मंसिर) काठमाडौंमा आयोजना गरेको ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा सरोकार भएका निकाय एवं व्यक्तिले १२ वर्षे द्वन्द्वका क्रममा पठनपाठन बन्द गरिएको संस्कृत फेरि पढाउन शुरु गरिनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शिक्षा र संस्कृतिलाई परिवर्तन आत्मसात गर्ने गरी अघि बढाइनुपर्ने बताउनुभयो । षडानन्दले चेतनाको ज्योति शिक्षामार्फत छरेकाले त्यसलाई पुनःस्थापित गरिनुपर्ने उहाँको भनाइ थियो ।

प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले षडानन्दले सौर्यशक्तिको उपासना गरी दिङ्लाबाट विश्वभर अध्यात्मको ज्योति जगाएकामा हाल निभेको ज्योतिलाई पुरानै स्वरुपमा फर्काउने महात्माको आवश्यकता रहेको धारणा राख्नुभयो भने प्रदेश नं १ का प्रदेशसभा सदस्य राजेन्द्र राईले क्रियात्मक ज्ञान दिनसके मात्र संस्कृत भाषा फेरि पढाउन सकिने भएकाले यसतर्फ सोच विचार गर्न आह्वान गर्नुभयो । जातजातिका भाषा पनि सो विद्यालयका पढाइनुपर्ने उहाँको माग थियो ।

षडानन्द नगरपालिकाका नगरप्रमुख वीरबल राईले चालू वर्षको नीति तथा कार्यक्रममा संस्कृत भाषालाई पुनर्जीवन दिने विषय समेटिएकाले संस्थापकको चाहना बमोजिमनै यसै वर्षदेखि अध्ययन अध्यापन शुरु हुने प्रतिबद्धता जनाउनुभयो ।

षडानन्द प्रतिष्ठानका अध्यक्ष चेतोनाथ गौतमले संस्कृत भाषामा भएका ज्ञानगुनका कुरा बाहिर आउन् भनी पुनः पठनपाठनको माग गरिएको बताउनुभयो । विद्यालयमा स्थानीय जातजातिका भाषा पनि पढाउनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा प्रा डा गोविन्दमानसिंह कार्की र यादव चापागाईंले बालागुरु षडानन्दले देश एवं समाजका लागि पु¥याउनुभएको योगदान समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि इच्छुक सहभागीले टिप्पणी गरेका थिए ।

जनस्तरबाट खुलेको नेपालकै पहिलो संस्कृत पाठाशालामा विसं २०५४ मा पहिलोपटक आक्रमण भएको थियो । विसं २०५८ कात्तिकमा भएको दोस्रोपटकको आक्रमणमपछि यहाँ संस्कृत पठनपाठन बन्द भएको सो अवसरमा जानकारी गराइयो । पुनः संस्कृत अध्यापन शुरु गर्ने उद्देश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष रु एक करोड ५० लाख बजेट विनियोजन गरेको जनाइएको छ । सो ठाउँलाई उत्तरकाशी, पूर्वको वृन्दावन जस्ता नामले पनि चिनिन्छ ।

ज्ञात रहोस्, अबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, पुस्तकालय, विद्यालय, बगैँचा आदि कार्यहरू सुचारु रहून् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरेको पाइन्छ । गुठीका नाममा लालमोहोर समेत गराएको देखिन्छ भने त्यसै समयमा लगभग हजार–बाह्र सय मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरेको पाइन्छ ।