‘ड्रोन’को प्रयोग गरी द्रूतमार्ग निर्माण कार्यलाई तिव्रता दिइने

‘ड्रोन’को प्रयोग गरी द्रूतमार्ग निर्माण कार्यलाई तिव्रता दिइने


राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक निर्माण आयोजनालाई थप व्यवस्थित र प्रभावकारी बनाइने भएको छ । आयोजना निर्माणको जिम्मा लिएको नेपाली सेनाले द्रूत मार्ग सडक निर्माणकोे आर्थिक, प्राविधिक र प्रशासनिक पक्षहरुको स्पष्ट रणनीति र कार्यदिशाका आधारमा व्यवस्थापकीय तथा कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउने जनाएको हो ।

उक्त आयोजना तोकिएको समय सीमाभित्र गुणस्तरीय ढङ्गबाट सम्पन्न गर्न सरकारको प्रचलित ऐन कानूनको परिधिभित्र रही खरीद प्रक्रियालाई अझ व्यवस्थित र पारदर्शी बनाउने सेनाले जनाएको छ । त्यस कामको निम्ति आयोजना प्रमुखका रुपमा प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठलाई पुनर्बहाली गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सहायक रथी श्रेष्ठको विषयमा विभिन्न प्रकाशनमा सार्वजनिक भएका समाचारका सम्बन्धमा गठित छानबिन समितिले प्राविधिक त्रुटिबाहेक कुनै पनि नियोजित त्रुटि नभएको र त्यसमा उहाँको संलग्नता नपाएको सेनाले स्पष्ट पारेको छ । साथै श्रेष्ठले जिम्मेवारी लिएका विगतका कार्यमा देखाउनुभएको कार्यदक्षता तथा पेशागत क्षमतालाई मनन गर्नुका साथै राष्ट्रिय गौरवको यस आयोजनालाई तोकिएको समयमा नै उत्कृष्ट ढंगबाट सम्पन्न गर्ने जिम्मेवारी निर्वाह गर्न आयोजना प्रमुखका रुपमा निरन्तरता दिइएको जनाइएको छ ।

प्रधानसेनापतिको आर्थिक अनियमिततामा शुन्य सहिष्णुताको नीतिलाई अवलम्बन गरी नेपाली सेनाले उक्त आयोजनामा संलग्न गैरसैनिक जनशक्तिको प्रभावकारी परिचालन, आयोजनाअन्तर्गतका सेक्टर तथा कार्यदल वेशहरुलाई थप सक्रिय तुल्याई राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञको पारदर्शीपूर्वक छनोट तथा व्यवस्थापकीय पक्षमा विशेष जोड दिइएको छ । आयोजनाको नियमित निगरानी, मूल्याङ्कन तथा थप प्रभावकारी व्यवस्थापनका लागि अत्याधुनिक प्रविधि (ड्रोन) को प्रयोग गरी निर्माण कार्यलाई तिव्रता दिइने योजना रहेको छ ।

उक्त आयोजनाको कार्यान्वयनसँग नेपाली सेनामाथि नेपाली नागरिक तथा नेपाल सरकारको विश्वास र भरोसा गाँसिएको तथ्य मनन् गरी आयोजनालाई पूर्ण पारदर्शी, नियमसङ्गत, गुणस्तरीय रुपमा समय सीमाभित्र सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाले लिएको छ । साथै राष्ट्रिय गौरवको उक्त आयोजनाको सफलताले नेपाली सेनामाथि समग्र नागरिक र राष्ट्रको विश्वास थप मजबुत बनाउने अपेक्षा नेपाली सेनाले लिएको आइतबार (१ मंसिर) प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

file pict: rss