दिल्लीमा सांसद गौतम गम्भीर हराएको सूचना जारी !

दिल्लीमा सांसद गौतम गम्भीर हराएको सूचना जारी !


टीम इण्डियाका पूर्व स्टार क्रिकेटर यतिबेला पूर्वी दिल्ली क्षेत्रबाट भारतीय जनता पार्टीका सांसद छन् । क्रिकेटमा गौतमले हासिल गरेको सफलता र प्रसिद्धिका कारण सांसदको रूपमा पनि उनको विशेष पहिचान छ । यस्ता ‘हाई प्रोफाइल’ सांसद एकाएक बेपत्ता भए भने के होला ?

साँच्चै, यतिबेला दिल्लीका ठाउँ–ठाउँमा सांसद गौतम गम्भीर हराएको सूचनासम्बन्धी पोष्टर टाँगिएको छ । गौतम गम्भीर हराएको पोष्टर टाँग्ने काम अरु कसैले नभई आम आदमी पार्टी (आप)ले गरेको हो । ‘लापता’ शीर्षकसहित उक्त पोष्टरमा लेखिएको छ– ‘क्या आपने इन्हे देखा हैं ? आखिरी बार इंदौर मे जलेबी खाते हुए देखा था, पूरी दिल्ली इन्हे ढूंड रही हैं ।’

पोष्टरको ब्यहोरा निकै गम्भीर प्रकारको छ । एउटा जानेमानेको क्रिकेटर एवम् सत्तारुढ दलका सांसद एकाएक हराउनु चानचुने मामला होइन ।

तर, यथार्थमा गौतम कतै हराएका छैनन्, उनी पार्टीले दिएको जिम्मेवारीअनुसार एक सांसदको रूपमा काम गरिरहेकै छन् । गौतमसँग आप पार्टी चाहिँ बेस्सरी रिसाएको छ, फलतः ‘सांसद हराएको सूचना’ जारी गर्दै खुलेआम पोष्टर टाँगिरहेको छ ।

वास्तवमा दिल्लीमा बढिरहेको वायु प्रदुषणबारे दिल्लीको शहरी विकास मन्त्रालयद्वारा १५ नोभेम्बरका दिन एक बैठक बोलाइएको थियो । संयोगवश उक्त बैठकमा गौतम गम्भीरसहित दिल्लीका कुनै पनि सांसद पुगेनन् । यसैबीच एक साथीका साथ उभिएर जेरी खाइरहेका गौतमको तस्बिर भाइरल बनिरहेको थियो । यही तस्बिरलाई मसला बनाएर ‘आप’ले गौतमबारे उल्लेखित ब्यहोराको पोष्टर बनाएर शहरमा टाँसिदियो ।

एक साता अगाडिदेखि खबर गर्दा पनि दिल्लीमा प्रदुषण कसरी कम गर्ने भनी छलफल गर्न बोलाइएको बैठकमा सांसद गौतम गम्भीरले लापर्वाही प्रदर्शन गर्दै अनुपस्थित रहेको आरोप ‘आप’ले लगाएको छ । यसरी आफ्नो धज्जी उडाउँदै पोष्टर टाँसेको घटनाप्रति गौतम गम्भीरले शालिन प्रतिक्रिया दिएका छन्– ‘मलाई यसरी गाली गर्दैमा दिल्लीको प्रदुषण कम हुन्छ भने ठिकै छ, जति गाली दिए पनि हुन्छ । म कति जिम्मेवार ढङ्गले काम गरिरहेको छु भन्ने त मेरै काम बोलिरहेकै छ ।’

स्मरण रहोस्, सडक निर्माणको ठेक्का लिएर वर्षौंसम्म काम नगरेको विरोधमा भक्तपुरका सरोकारवाला नागरिकहरूले यस्तै शैली अपनाएर ठेकेदार शारदा अधिकारीको विरोध गर्दा हालै प्रशासन लगाएर पोष्टर उप्काउन लगाइएको थियो ।