३६ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

३६ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ


प्रहरीले काठमाडौंको कुलेश्वरबाट ३६ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला, जोगपट्टी थानानिवासी ५७ वर्षीय सत्यनारायण प्रसाद रहेका छन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान नेपाली ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३६ लाख ५ हजारबराबरको ६ वटा चेक, खाली चेकबुक ६ वटा र मोबाइलसहित पक्राउ गरेको हो ।

उनी तीस वर्षदेखि नेपालमा बस्दै आएको खुलेको छ । भारतीय नोटको गैरकानुनी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी उनको कोठामा पुगेको थियो ।

पक्राउ परेका प्रसादलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा बुझाइने प्रहरीले जनाएको छ ।