अमेरिकामा गोलीकाण्डमा पाँचको मृत्यु

अमेरिकामा गोलीकाण्डमा पाँचको मृत्यु


अमेरिकाको दक्षिण भागमा पर्ने क्यालिफोर्निया राज्यमा शनिबार बिहान भएको गोलीकाण्डमा परी पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये तीनजना बालबालिकासमेत रहेका स्थानीय स्रोतले जानकारी दिएको छ । हत्या गर्ने व्यक्तिको पनि मृत्यु भएको विश्वास गरिएको सो स्रोतले जनाएको छ ।

स्थानीय एक पत्रिकाले प्याराडाइज हिलमा उक्त घटना भएको लेखेको छ । उत्तरी अमेरिका र मेसिक्कोको सीमा क्षेत्रदेखि ३५ किलोमिटर टाढा रहेको ठाउँमा घटना भएको जनाइएको छ ।

स्थानीय समयानुसार शनिबार बिहान ६ः४९ मा घटनाबारे प्रहरीलाई पहिलो फोन आएको प्रहरी स्रोतले जनाएको छ । मृत्यु भएकामध्ये एकजना तीनवर्षे बालक, एकजना २९ वर्षीया महिला र ३१ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको थियो । अर्का ५ वर्षीय र नौ वर्षीय दुई बालकको अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

गोली लागी घाइते भएका अर्का ११ वर्षीय एक बालकको भने अहिले अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनास्थलमा प्रहरीले एउटा बन्दुक भेटिएको बताएको छ । घटना किन र के कारणले भयो भन्नेबारेमा केही थाहा पाउन नसकिएको प्रहरीको भनाइ छ ।

प्रहरी अधिकारीले घटनाबारे अनुसन्धान सुरु गरिसकिएको जनाएका छन् ।