प्रतिबन्धित नेकपाले लुकाइराखेको आधुनिक हतियार बरामद

प्रतिबन्धित नेकपाले लुकाइराखेको आधुनिक हतियार बरामद


■ एस क्षेत्री, कपिलवस्तु

कपिलवस्तुको शिवनगरबाट पाँच थान एसएमजी र ३ सय ९० थान गोली बरामद भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले लुकाइछिपाइ राखेको ठूलो परिणामको अत्याधुनिक हतियार प्रहरीद्वारा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगरको सीमा क्षेत्रमा रहेका खाली गोठमा लुकाइछिपाइ राखेका अवस्थामा पाँच थान अत्याधुनिक सर्ट मेसिन गन (एसएमजी), त्यसमा प्रयोग हुने १३ थान म्यागजिन तथा उक्त राइफलमा प्रयोग हुने ३९० थान गोली बरामद गरेको छ ।

प्रदेश प्रहरी कार्यालय दाङबाट विशेष सूचनाको आधारमा प्रदेश ५ प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ तथा इलाका प्रहरी कार्यालय गढवाको संयुक्त गस्ती टोलीले शुक्रबार बेलुकी करिब ६ बजे शिवनगर–१ मा रहेको खाली गोठबाट रातो सुटकेसमा राखिएका उक्त हातहतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले आज (३० कात्तिक) आयोजित पत्रकार सम्मेलन गरी जानकारी दिए ।

विप्लव नेकपाले दाङ र कपिलवस्तुको सीमा हुँदै हातहतियार स्थानान्तरण गर्दैछ भन्ने सूचनाका आधारमा कात्तिक २६ गतेबाट निरन्तरको निगरानी तथा खोजतलासपछि हतियार बरामद गरिएको प्रहरीले बताएको छ । बरामद गरिएका हतियार कहाँ र कुन प्रयोजनका लागि लैजान लागिएको थियो भन्ने प्रारम्भिक अनुसन्धानबाट केही खुलेको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

उपनिर्वाचनको पूर्वसन्ध्यामा यति ठूलो मात्रामा अत्याधुनिक हतियार भेटिनुले सुरक्षा संवेदनशीलतामाथि अझ सतर्क रहन जिम्मेवारी बढेको देखिएको छ। बरामद गरिएका हतियार युद्धकालीन समयमा प्रयोग गरिएका जस्ता देखिए पनि ती अहिले नै यकिन गर्न नसकिने प्रहरीको भनाई छ । घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान शुरु गरिएको पनि प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।