वातावरणीय विनाशको कोपभाजनबाट भावी पुस्ता बचाउने हो भने…

वातावरण : एक दार्शनिक प्रश्न


■ पदम केसी

भनिन्छ जसको आफ्नो कोही हुँदैन, ऊ सबैको हुन्छ । जो सबैको हुन्छ, उसको आफ्नो कोही हुँदैन । वातावरण पनि त्यस्तै विषय हो । वातावरणलाई कसैले पनि माया गरिरहेको छैन । त्यो कसैको भएको छैन । तर, त्यो सबैको हो । अनुकूल वातावरणबिना पृथ्वीको कुनै पनि प्राणी एक पल बाँच्न सक्दैन ।

आज समाजका प्रत्येक व्यक्ति वा समूह आ–आफ्नो व्यक्तिगत वा सीमित सामाजिक स्वार्थका लागि क्रियाशील छ । आफ्ना क्रियाकलापले समग्र वातावरणमा चाहे जस्तोसुकै घातक प्रभाव किन नपरोस् मान्छे आफ्नो कामको समीक्षा गर्ने पक्षमा छैन । मान्छेको त्यसप्रकारको चिन्तनका कारण आज वातावरणीय अवस्था निकै नाजुक अवस्थामा पुगेको छ । त्यसले समाजको हरेक सदस्यलाई क्षति पुऱ्याइरहेको छ । त्यसले समाजको हरेक क्षेत्रलाई प्रभावित पार्दै गएको छ । मानिसहरूको चिन्तन र क्रियाकलाप नसच्चिने हो भने पर्यावरणीय प्रणाली नै असफल भई मानव सभ्यताको अन्त्यको दुर्दिन छिट्टै नआउला भन्न सकिँदैन ।

आजका मान्छेले कसरी सोचिरहेका छन् ? त्यसबारे चर्चा गरौँ । मान्छे चाहे जस्तोसुकै अनकन्टार ठाउँमा बसेको किन नहोस्, आज उसलाई त्यहाँ सडक चाहिएको छ । आजको राजनीतिक व्यवस्थामा चुनाव जित्न उम्मेदवारलाई भोट चाहिन्छ । वातावरणीय हिसाबले चाहे जतिसुकै क्षति किन नहोस्, मतदाता र जनप्रतिनिधि त्यो वातावरणीय क्षतिलाई पूरै नजरअन्दाज गरी वनफँडानी र भूक्षय गर्दै त्यो ठाउँमा सडक लैजान सहमत हुन्छन् ।

प्लास्टिक जलाउँदा डायोक्सिन नामक घातक रसायन निस्कन्छ । आफ्नो घर–पसल सफा राख्न मानिस निसङ्कोच प्लास्टिक जलाइरहेका हुन्छन् । घर सफाइ गरेर वा ढल निकास गरेर फोहोर खोलमा मिसाइदिन्छन् ।

वन डढेलोले जैविक विविधताको नष्ट मात्र गरेको हुँदैन, वायुमण्डलमा कार्बनडाइअक्साइडलगायतका हरिगृह ग्यास उत्सर्जन भई दीर्घकालिक रूपमा वैश्विक तापमान वृद्धि हुन्छ भने तात्कालिक रूपमा वायु प्रदूषण भई स्वास्थ्यलाई असर गर्दछ । तर, मानिसहरू घाँसको नयाँ पालुवा र वन्यजन्तुको सिकारका लागि वनमा निसङ्कोच आगजनी गरिरहेका हुन्छन् ।

कार्बनडाइअक्साइडभन्दा कैयौँ गुणा बढी फ्रिज र एसी चलाउँदा निस्कने क्लोरोफ्लोरो ग्यास भन्ने ग्यासले वायुमण्डल तताउँछ । तर, मान्छेले फ्रिज र एसीलाई विलासी वस्तुको रूपमा प्रयोग गरिरहेका छन् । जीवन बचाउने औषधि चिसोमा राख्न आवश्यक हुन्छ, तर विलासिताका लागि फ्रिज वा एसीको प्रयोग गर्नु आवश्यक हुँदैन ।

आजका मान्छेलाई पैसा मात्र चाहिएको छ । यदि पैसा पाइन्छ भने मान्छे जस्तोसुकै वातावरणीय अपराध गर्न पनि तयार छ । अर्घाखाँची पानीको स्रोत कम भएको जिल्ला हो । बीचको महाभारत र उत्तरका जालकाँडा, घोर्लासी र घेराको लेकलाई छोड्ने हो भने उत्तर र दक्षिण दुवैतर्फ होचा समथर डाँडाहरूले अर्घाखाँची भरिएको छ । जे–जति भूमिगत पानी छ, तिनै अग्ला चुनमिश्रित पहाडमा छ । पानीको व्यवस्था हुने हो भने उत्तर–दक्षिण दुवैतर्फ बाह्रै महिना गुल्जार हुन सक्छ । कृषि र पर्यटनबाट पैसा कमाउन लगानी र मिहिनेत गर्नुपर्छ ।

दिगो प्राकृतिक स्रोतहरूको दोहनले कृषि र पर्यटनलाई चाहे जस्तोसुकै असर किन नगरोस् यदि चुन बेचेर तत्काल पैसा कमाउन सकिन्छ भने कमाइहाल्नुपर्छ भन्ने सोच जिल्लाका धेरैजसो राजनीतिक नेता, पत्रकारदेखि स्थानीय व्यक्तिहरूमा समेत छ । जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य सुपादेउराली र नरपानी–खाँचीकोटलाई प्रत्यक्ष नकारात्मक असर परिरहेको छ । तर, सुपादेउराली मन्दिर र सीतखोलाको शिर तिनपानेलाई ध्वस्त गर्ने कार्य अहिले पनि तीव्र गतिमा अगाडि बढिरहेको छ ।

मानिसहरूको त्यसप्रकारको निहित स्वार्थकेन्द्रित चिन्तनका कारणले नै आज विश्वस्तरमा नै वातावरणीय सन्तुलन एक गम्भीर चिन्ताको विषय बनेको छ । जलवायु परिवर्तन तीव्र गतिमा देखा परिरहेको छ । प्रदूषणको स्तर निकै माथि पुगेको छ । तापक्रम निकै बढिरहेको छ । पहाडमा मात्रै होइन लेकमा पनि मच्छडआतङ्क देखापरेको छ । यो वर्ष नेपालका धेरै पहाडी जिल्लामा मच्छडको टोकाइबाट हुने डेंगु रोग देखा पऱ्यो । पछिल्लो एक दशकयता उच्च पहाडमा भटमासको खेती हुन छोडेको छ । वायुमण्डलीय स्वच्छता नष्ट भएर गएको छ । जलजन्य प्रकोप बढ्दै गएको छ ।

मानिसहरूको चिन्तनमा सकारात्मक परिवर्तन न ल्याईकन वातावरण संरक्षणको कल्पना नै गर्न सकिँदैन । सरकारले वातावरणीय चेतना अभिवृद्धि गर्न वातावरण विज्ञानलाई प्राथमिक शिक्षाबाट अनिवार्य गर्दै उच्च शिक्षासम्म पुऱ्याउनुपर्छ । त्यसअघि वातावरण संरक्षणका व्यापक अभियानहरू सञ्चालन गर्नुपर्दछ । वातावरणीय कानुनलाई कठोर बनाउँदै लैजानुपर्छ । वातावरणीय अपराधको दोषीमा कडा कानूनी कारबाही गर्नुपर्दछ । वातावरण संरक्षणमा उल्लेखनीय भूमिका खेल्ने व्यक्ति वा समूहलाई प्रोत्साहित गर्नुपर्दछ । आफ्ना हरेक क्रियाकलापलाई वातावरणमैत्री बनाउने व्यक्तिलाई पुरस्कृत गर्नुपर्दछ ।

सरकारका सम्पूर्ण क्रियाकलापलाई वातावरणमैत्री बनाउनुपर्दछ । वनजङ्गल नष्ट गर्नेलाई कडा सजाय दिनुपर्दछ । वृक्षरोपण र संरक्षण गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ । विकास र आर्थिक क्रियाकलापलाई बढीभन्दा बढी वातावरणमैत्री बनाउनुपर्छ । पर्या–पर्यटनजस्ता वातावरणमैत्री आर्थिक क्रियाकलापलाई विशेष प्राथमिकता दिनुपर्छ । जलविद्युत् उत्पादनमा जोड दिएर उद्योग र यातायात क्षेत्रलाई छिटोभन्दा छिटो स्वच्छ ऊर्जा उपलब्ध गराउनुपर्छ । त्यसो गर्न सके मात्र हामीले आगामी पिँढीलाई न्याय गर्न सक्नेछौँ । अन्यथा भावी पुस्तालाई वातावरणीय विनाशको कोपभाजनबाट बचाउन कसैले पनि सक्नेछैन ।

(लेखक पर्यावरण सुरक्षाप्रति चासो राख्ने सामाजिक अभियन्ता हुन् ।)

प्रतिक्रिया