सडकमा छाडा गाई होइन अब गाई-अनाथालय

सडकमा छाडा गाई होइन अब गाई-अनाथालय


■ स्वयम्भुनाथ कार्की

पूर्वीय सनातनी सभ्यतामा गाईलाई एक महत्वपूर्ण जनावर मानिँदै आएको छ । केही दशक पहिले गाई र गाई जातका जनावरहरूको उपयोग आर्थिक क्रियाकलापमा हुने गरेको थियो । तर, बदलिँदो अवस्थामा गाईपालन दूधप्राप्तिमा मात्र सीमित भएको छ । यसले गर्दा लगातार गाई र बाच्छा केही समयपछि आर्थिक बोझ बन्ने गरेका छन् । वैदिक सनातनले गौहत्या गौमांस भक्षण अनुचित मान्छ । एकातिर आर्थिक भार अनि अर्कोतिर आफ्नो धार्मिक मान्यताले यो समुदाय पीडित छ । उसै पनि गाई जातका प्राणीले धार्मिक भावना समेटेका छन् ।

एकातिर धार्मिक विश्वास, अर्कोतिर यो विश्वासमा चोट पुऱ्याउन गरिने गाई अपमान अहिलेको सामाजिक युद्धको कारण भइरहेको छ । कतिपय नयाँ कट्टरता अपनाइँदै छ, यसले गाई भक्षण गर्ने समूहमा पनि केवल गाई भक्षण नगर्ने समूहलाई तल देखाउन गाई मारेको, खाएको देखाएर गिज्याउने कुप्रवृत्ति देखिँदै छ । धार्मिक भावनाको कारणले यस्ताको जतिसक्यो विरोध गर्नुपर्दछ भनेर उत्तेजित हुने गर्दछ हिन्दू समाज । त्यो उत्तेजित हुने समाजका धेरै उन्नत गौपालकहरूको गोठमा न बूढी गाई देखिन्छन् न बहर नै । किनभने उन्नत गाईपालनमा अनुत्पादक वा कम उत्पादन दिने गाई प्राणी पाल्ने सामथ्र्य उनीहरूको छैन । त्यसैले आर्थिक रूपले उत्पादनशील नहुनेबित्तिकै त्यसबाट छुटकारा पाउने प्रयत्न हुने गर्दछ ।

यसैको फलस्वरूप छाडा गाई जातका जन्तुहरू बाक्लै देखिन थालेका छन् । यसको व्यवस्थापन स्थानीय सरकारलाई कठिन हुँदै गएको छ । बेलाबेलामा जङ्गल, भिर आदि तिर देखिने मृत वा घाइते गाई जातका जनावर किन त्यहाँ पुगे भन्नेबारे नबोले पनि सबैलाई थाहा छ । गाई खाने समुदायलाई बेचिएका गाई बाच्छाहरू पक्कै पाल्न बेचिएका होइनन भन्ने पनि थाहा नभएको होइन । सीमानजिककाहरू भारतमा गौमास धेरै स्थानमा वर्जित नभएको बेलामा ती गौप्राणी उता बेचिन्थे । त्यसबेला एकछिनलाई अरूबेला गौमाता भन्नेहरू त्यो बिर्सन्छन् । अहिले सीमावर्ती भारतमा पनि धेरै स्थानमा गौहत्या वर्जित भएको छ । त्यसैले अब नेपालले आफ्नो मात्र होइन ती सीमापारिका गाईहरू पनि आफ्ना सडकमा पाएको छ ।

गाई पालेर दूधको आम्दानी लिने, तर अनुत्पादक भएपछि त्यसबाट छुटकारा अरूले नै दिलाउनुपर्ने सोचमा समाज छ । केही धर्मार्थ संस्था–सङ्गठनहरू यस्ता गाई जातका जनावरको निमित्त नभएका होइनन् । तर, यस्ता परोपकारी वा धर्मार्थ संस्थाहरूले यो समस्याको हल गर्न सक्दैन । साथै यस्ता संस्थाहरूले ती वस्तुहरूको पालन–स्याहार आदिमा दाताहरूको दानशीलता खोज्छन् । अर्थात् यस्ता संस्थाहरू दानमा चलेका हुन्छन् ।

गाईगोरुहरू आफ्नो जीवनको अन्त्य नहुञ्जेल आर्थिक रूपमा बोझ हुँदैनन् । यो धारणा कुराले मात्र होइन कामले पनि सही साबित गर्न गाई अनाथालयको अवधारणा आवश्यक परेको हो । दान दातव्यबेगर चल्ने यो परिकल्पित अनाथालय पूर्ण रूपमा निजी उपक्रम हो । यसको निमित्त कुनै किसिमको चन्दा उठाइनेछैन । केवल बोझ भएका गाईजातका जनावरहरू परियोजनास्थलमा स्वीकार गरिनेछ । पराल आदि चाराहरू कसैले निःशुल्क दिन चाहेमा त्यो स्वीकार गर्न सकिनेछ । तर, नगद वा संरचना निर्माण आदिमा समान आदि स्वीकार गरिनेछैन ।

औँलो दिँदा डुँडुलो निल्ने शैलीमा परियोजनास्थलसम्म पुऱ्याउँदा लाग्ने खर्च परियोजनाले व्यहोर्नुपर्ने कुरा पनि गर्न सक्छन् । तर, गाईको उत्पादन लिने अनि अनुत्पादक भएपछि सित्तैमा छुटकारा होस् भन्ने सोच स्वार्थी हो । फोहोर फाल्न पनि पैसा तिर्नुपर्ने हुन्छ । आपूmलाई भएको बोझ पन्छाउँदा केही न केही मूल्य त चुकाउनैपर्छ ।

अनौठो लाग्न सक्छ बिना कुनै चन्दा, दानदातव्य यो परियोजना कसरी चल्छ ? प्राकृतिक रूपमा गाईगोरु पाल्दा तिनीहरूको उपयोग गरेर नै यसको खर्च व्यहोरिन्छ । त्यसबाहेक केही लाभ पनि हुन्छ नै । लाभ भन्नेबित्तिकै मासु उपयोगको कल्पना आउन सक्छ । तर, कुनै पनि हालतमा ती वस्तुहरू मासुका निमित्त बध गर्न बिक्री गरिने छैन । तर, तिनीहरूको कृषिमा उपयोग, स्वस्थ भएर दूधमा उपयोगको निमित्त बिक्री भने गर्न सकिन्छ ।

अब कुरा आउँछ, अर्ती दिन त सबैले सक्छन्, कसले गर्ने ? शुरुमा पाँच सयसम्म वस्तु व्यवस्थापन गर्न सक्ने परियोजना चलाउन म तयार भएको छु । त्यसैले यो गर्न नसक्ने कुरा होइन । पारि मासुको निमित्त बेच्ने, भिरबाट लडाउनुपर्ने, जङ्गलमा छोड्नुपर्ने सबै गाई प्राणीको आश्रयस्थल बन्नेछ । यदि गाईलाई माता भनिन्छ भने यो आश्रयस्थलले गाई पाल्छ पनि र आश्रयस्थल चलाउनेलाई पनि पाल्छ । यो मेरो अटल धारणा हो ।