बंगलादेशका राष्ट्रपति हमिद स्वदेश प्रस्थान

बंगलादेशका राष्ट्रपति हमिद स्वदेश प्रस्थान


बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चारदिने औपाचारिक सदभावना भ्रमण पूरा गरी आज (शुक्रबार) अपराह्न स्वदेश प्रस्थान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा गत मंगलबार नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बिदाइ गरिन् । राष्ट्रपति हमिदको बिदाइका निम्ति गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई पनि उपस्थित थिए । बिदाइको समयमा उनलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामी दिएको थियो ।

उनको स्वागतमा झैँ बिदाइमा पनि सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारले गीतसंगीत र नृत्य प्रस्तुत गरेका थिए भने बालबालिकाले नेपाल र बंगलादेशको झण्डा फहराएर विशिष्ट पाहुनालाई बिदाइ गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गरेका थिए । राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गरेकी थिइन् ।

भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाले पनि उनीसँग शिष्टाचार भेट गरेका थिए ।

नेपाल बसाइका क्रममा बंगलादेशका विशिष्ट अतिथि भक्तपुर दरबार स्क्वायर क्षेत्रका साथै पोखराका पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गर्दै विभिन्न पर्यटकीय गतिविधिमा सहभागी भएका थिए ।
rss