प्रधानमन्त्रीको सचिवालय को–को आउट ?

प्रधानमन्त्रीको सचिवालय को–को आउट ?


एकैपटक राजीनामा बुझाएका प्रधानमन्त्री सचिवालयका १३ सदस्यमध्ये ६ जनाको मात्रै राजीनामा स्वीकृत भएको छ । राजीनामा स्वीकृत हुनेहरूमा प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटो पत्रकार कृष्ण पौडेल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, विकास विज्ञका रूपमा नियुक्त घनश्याम भट्टराई र प्रधानमन्त्रीका सम्बोधनहरू तयार पार्ने उदय पोखरेल रहेका छन् ।

उनीहरूले मंसिर १ गतेदेखि लागू हुनेगरी यसअघि राजीनामा दिएका थिए ।

सचिवालय स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयका प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, राजेश बज्राचार्य र प्रेसविज्ञका रूपमा नियुक्त रामशरण बजगाईंको भने राजीनामा स्वीकृत नभएकोले उनीहरू यथावत रहने भएका छन् ।

यसैगरी यथावत रहनेहरूमा निर्वाचन क्षेत्र हेर्ने स्वकीय सचिव होम थापा, दीपेन्द्र दाहाल, सूचना प्रविधिसम्बन्धी विज्ञ असगर अली र महेन्द्र श्रेष्ठ रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा सूर्य थापा र जनसम्पर्क सल्लाहकारमा झापाका पूर्वसांसद दीपक कार्कीलाई ल्याउने तयारी भएको स्रोत बताउँछ । थापा झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि प्रेस सल्लाहकार थिए भने पूर्वसांसद कार्की झापामा राम्रो जनाधार भएका नेताका रूपमा चिनिन्छन् ।