अन्तर्राष्ट्रिय चेस च्याम्पियनसीपमा कृष्णले बाजी मारे

अन्तर्राष्ट्रिय चेस च्याम्पियनसीपमा कृष्णले बाजी मारे


सिएम कृष्ण थापा चेसको कुनै पनि अफिसियल अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जित्ने पहिलो नेपाली बनेका छन् । मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा कृष्णले पहिलो स्थान प्राप्त गर्दै यो उपलब्धि हासिल गरेका हुन् ।

९ चरणको खेलमा ८ अंक जोड्ने क्रममा कृष्णले अन्तिम चरणमा नेपालकै रिजेन्द्र राजभण्डारीलाई पराजित गरेका थिए । पराजित रिजेन्द्र ६.५ अंक सहित पाँचौ स्थान प्राप्त गरे । प्रतियोगितामा नेपाली खेलाडीले शिर्ष पाँच स्थान प्राप्त गर्न सफल भएका थिए ।

अन्तिम चरणमा भारतका सुमित ग्रोभरलाई हराएका प्रकाश नेपाल ७.५ अंकसहित दोश्रो, भारतका शुभम शुक्लालाई हराएका पुरुषोत्तम चौलागाइ ७ अंकसहित तेश्रो तथा सुमित आर्नभ कुशहवालाई पराजित गरेका सजिन मर्हजन ७ अंकसहित चौथो भए । अन्तिम चरणमा पराजित ग्रोभर छैठौँ भए । यसैगरी सुमित पन्त सातौँ, आशिष फुयाँल आठौँ तथा सुरवीर लामा नवौँ तथा शुभम शुक्ला दशौँ भए ।

महिलातर्फ भारतका सन्ध्या जी पहिलो भइन् । चीनका सुन फुरुङ दोश्रो, नेपालकी सुजना लोहनी तेश्रो तथा जापानकी कोजीमा नात्सुमी चौथो तथा नेपालकै सुशीला गुरुङ पाँचौँ भए । । महिलातर्फ विजयीले ७ सय, उपविजयीले ५ सय, तथा तेश्रो देखि पाँचौँहुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाए ।

त्यस्तै, पुरुषतर्फ विजयी थापाले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाए । यसैगरी, चौथो र पाँचौले ५ सय, छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाए । आठौँदेखि दशौँ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।

नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा १५ देशका ८४ खेलाडी सहभागि थिए ।