नेपालमै पहिलोपटक जोमसोममा ‘इ–कार रेसिङ’ हुने

नेपालमै पहिलोपटक जोमसोममा ‘इ–कार रेसिङ’ हुने


नेपालमा पहिलो पटक फर्मुला वानको इ–कार रेसिङ आयोजना हुने भएको छ । सन् २०२१ को मे महिनामा मुस्ताङको जोमसोममा फर्मुला इ–च्याम्पियनसिप प्रतियोगिता आयोजना हुन लागेको हो ।

‘एक्स्ट्रिम – इ’ नाम दिइएको रेस ब्याट्रीबाट चल्ने विद्युतीय कारको रेस हो । नेपाल पर्यटन बोर्डको संयोजनमा बेलायतको ‘एक्स्ट्रिम इ’ नामक संस्थाले रेसिङ आयोजना गर्न लागेको बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । वातावरणमा अन्य प्रभाव नहोस् भनेर विद्युतीय कारको रेसिङ गर्न लागिएको र रेसिङका लागि विभिन्न पाँच भौगोलिक क्षेत्रमध्ये हिमालयतर्फ नेपाल छनोट भएको सो अवसरमा बताइयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र फर्मुला इ–च्याम्पियनसिपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागलेसहितको टोलीले दुई दिनअघि मनाङको अवलोकन गरी कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो ।

सन् २०११ मा पहिलो पटक घोषणा भएको फर्मुला वानको इ–कार रेसिङ यसअघि सन् २०१४ मा चीनको राजधानी बेजिइङमा उद्घाटन भएको थियो ।

विश्वव्यापी रूपमा यो रेसिङमा एक सिट भएका विद्युतीय रेसिङ कार प्रयोग हुँदै आएका छन् । नेपालमा हुने रेसिङ भने फरक छ । यसमा विद्युतीय ‘एसयुभी’ गाडी प्रयोग हुन सक्नेछन् ।

बताइएअनुसार अनुसार मुस्ताङमा हुने यो रेसिङमा विश्वका १२ टिम सहभागी हुनेछन् ।

सञ्चारकर्मीहरूसँगको साक्षात्कारमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले भ्रमण वर्षको सन्दर्भमा हुने यो कार्यक्रमले गन्तव्य प्रवद्र्धनका साथै जलवायु परिवर्तनको जोखिम विश्वमै बढिरहेको सन्दर्भमा वातावरणसम्बन्धी सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने धारणा राखे भने फर्मुला इ–च्याम्पियनसिपका अध्यक्ष अलेजेन्ड्रोले नेपालको भूगोल रेसिङका लागि उपयुक्त रहेको र साहसिक पर्यटन प्रवद्र्धनका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गरे ।