भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि


नेपालले ‘एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’को उपाधि जितेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सुहरावर्दी इन्डोर स्टेडियममा बिहीबार (२८ कात्तिक) सम्पन्न फाइनल खेलमा नेपालले माल्दिभ्सलाई ३–० सेटमा हराउँदै उपाधि हात पारेको हो ।

महिला भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय उपाधि जितेको हो । नेपाली महिला भलिबल टोलीले हासिल गरेको यस ऐतिहासिक उपाधिलाई ठूलै उपलब्धि मानिएको छ ।

माल्दिभ्सविरुद्धको खेलमा नेपालले पहिलो सेट २५–१३ अङ्कले जितेको थियो । त्यस्तै, दोस्रो सेट २५–१२ अङ्कले तथा तेस्रो सेट २५–८ अङ्कले जित्दै उपाधि चुमेको हो ।

यसअघि नेपाली भलिबलले जितेको ठूलो अन्तर्राष्ट्रिय पदक रजत थियो । महिला भलिबल टोली सन् २०१४ मा काठमाडौँमा सम्पन्न दक्षिण एशियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा दोस्रो भएको थियो । नेपालले लिग चरणको खेलमा माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र बङ्गलादेशलाई पराजित गरेको थियो ।

प्रतिक्रिया