विवादास्पद ‘राफेल लडाकू विमान मामिला’ सुप्रिम कोर्टद्वारा खारेज

विवादास्पद ‘राफेल लडाकू विमान मामिला’ सुप्रिम कोर्टद्वारा खारेज


भारतीय सर्वोच्च अदालतले सन् २०१८ को डिसेम्बर १४ मा गरेको आफ्नै फैसलालाई बिहीबार (१४ नोभेम्बर) सदर गरेको छ । अदालतको यस आदेशसँगै भारतले फ्रान्सबाट खरिद गर्न लागेको विवादास्पद राफेल लडाकू विमान खरिद प्रकरण टुङ्गिएको बताइएको छ ।

भारतको मोदी सरकारले फ्रान्सबाट ३६ थान लडाकू राफेल विमान खरिद गर्न प्रक्रिया अगाडि बढाएपछि विमान खरिदमा भ्रष्टाचार भएको भन्दै यसविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोई तथा न्यायाधीश सञ्जय किशान कौल र केएम जोसेफको संयुक्त इजलासले गत वर्ष डिसेम्बर १४, २०१८ को सर्वोच्चको आदेशविरुद्ध परेको याचिकालाई खारेज गरेको थियो ।

अदालतको आदेशमा विमान खरिदसम्बन्धी तथ्य प्रमाणका आधारमा निर्णय–प्रक्रियामा कुनै त्रुटी नदेखिएको बताउँदै विमानको मूल्यका बारेमा अदालतले कुनै निर्णय गर्न नसक्ने र त्यसमा आफ्नो चासो नरहेको उल्लेख रहेको एएफपीले जनाएको छ ।

सर्वोच्चको पूर्व निर्णयमाथि पुनर्विचार गरियोस् भन्दै पूर्वकेन्द्रीय मन्त्री यशवन्त सिन्हा, अरुण शौरी, कानून व्यवसायी प्रशान्त भूषण र अन्य केहीले निवेदन दिएका थिए । उनीहरूले सर्वोच्चको पूर्वआदेशमा धेरै त्रुटी रहेको भन्दै निर्णय सच्याउन आग्रह गरेका थिए ।

सर्वोच्च अदालतको फैसलाबाट मोदी सरकारलाई राहत पुगेको भारतीय मिडियाहरूले टिप्पणी गरेका छन् ।