स्वाभिमान नै नेपालीको शक्ति !

स्वाभिमान नै नेपालीको शक्ति !


■ इन्द्रबहादुर बराल

नेपाल भूपरिवेष्टित देश हो । यसर्थ, तेस्रो मुलुकमा आवतजावत र व्यापार तथा पारहवनमा नेपाललाई अलि असजिलो महसूस हुन्छ । यद्यपि दुनियाँमा आएका अनेक प्रकारका प्रविधिले संसारलाई एउटै गाउँ पनि बनाइदिएको छ । अहिले कहीँ–कतै टाढा भन्ने नै हुँदैन । त्यसो हुँदाहुँदै पनि नेपालको भूअवस्थितिका कारण कहिलेकाहीँ असजिलो अनुभव हुनु हाम्रो दुःख हो, विडम्बना हो ।

विश्वमानचित्रमा नेपाल भौगोलिक हिसाबले ज्यादै सानो छ, तर सार्वभौम स्वतन्त्र राष्ट्रको हैसियतले कोहीभन्दा कम छैन । यही स्वाभिमानले नेपालले विश्वमानचित्रमा आफ्नो गौरवपूर्ण उपस्थिति कायम गरेको छ । आधुनिक नेपालको निर्माणसँगै विश्वमा वीर नेपालीको रूपमा परिचित नेपाली आफ्नो मान र शान राख्न चुकेको छैन । यसको पछाडि तटस्थ कूटनीतिले काम गरेको भन्न सकिन्छ । वैदेशिक नीतिमा नचुक्दासम्म नेपालले दुई शक्तिराष्ट्र चीन र भारत मात्रै होइन पश्चिमहरूबाट पनि राष्ट्रिय हितको पक्षमा अधिकतम लाभ लिने अवसरहरू विद्यमान छन् । यदि नेपाल सन्तुलित विदेशनीतिमा अडिन सकेन वा असंलग्न रहन सकेन भने त्यसबेला यस्तै या यही नै हुन्छ भनेर भन्न गाह्रो छ ।

हामीले सन्तुलित विदेशनीतिमा अडिँदासम्म उत्तर, दक्षिण र पश्चिमबाट पनि सहयोग–सद्भाव प्राप्त भइरहन्छ भने सन्तुलित हुन नसके शङ्का र सन्देहको घेरामा पर्न पनि सकिन्छ । अविश्वासको घेरामा नेपाल रहँदा राष्ट्रले अपेक्षा गरेको समृद्धिको सपना साकार हुन कठिन हुन्छ । यसको लागि सत्तारुढ दल नेकपा अत्यन्त सचेत र जवाफदेही हुनुपर्छ ।

धेरै हदसम्म सत्तारुढ दल बढी संवेदनशील हुनैपर्ने हुन्छ भने त्यसकै हाराहारीमा प्रतिपक्ष पनि जिम्मेवार र जवाफदेही बन्नुपर्छ । हाम्रो भौगोलिक अवस्थालाई गम्भीर रूपले मनन गर्दै विशेष गरेर दुई प्रमुख छिमेकीमा विश्वासको वातावरण बनाइराख्नुपर्छ । हालै मात्र चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणबाट कताकता अमेरिका झस्केको कुरा सार्वजनिक हुन पुग्यो । यसले हाम्रो सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी कूटनीतिक रूपले सन्तुलित हुन नसकेको हो कि भन्ने भान पर्न गयो । यस्तो अपरिपक्व कूटनीतिले नेपालले अवसरभन्दा चुनौतीको सामना गर्नुपर्ने हो कि भन्ने अवस्था देखिन्छ । नेपालमा पूर्वमाओवादीसमेतको सहभागितामा सरकार बनेको र त्यो सरकारको समयमा चिनियाँ राष्ट्रपतिको छोटो नै किन नहोस् महत्वपूर्ण भ्रमणलाई गैरकम्युनिस्टहरूले सूक्ष्म रूपमा ननिल्याल्ने कुरै भएन । त्यसको परिणाम अमेरिकीहरूबाट नेपाल चीनतर्फ लहसिएको भनी आफ्नो धारणा सार्वजनिक भयो ।

सन्तुलित र तटस्थ परराष्ट्र नीतिको अभावमा नेपालले अवसरभन्दा पनि धेरै चुनौतीहरूको सामना गर्न बाध्य हुनेछ । त्यसकारण भूअवास्थितिका चुनौती र अवसरको यथार्थपरक विश्लेषण गर्दै अघि बढ्नु नेपालको हितको पक्षमा हुनेछ ।

नेपालको सत्तासीन पार्टीले बुझ्नैपर्ने यथार्थ के हो भने नेपाली जनता कम्युनिस्ट होइनन् । कम्युनिस्ट भनेर दुईतिहाइ बहुमत दिएका होइनन् । मात्र के हो भने कम्युनिस्टहरूले लोकतन्त्रको नाममा भोट मागेका हुन् । गैरकम्युनिस्टहरूले कम्युनिस्टहरू पनि लोकतान्त्रिक बनेर आउँछन् भने किन मत नदिने भन्ने ठानेर अधिकांश लोकतान्त्रिक विचार राख्नेले मतदान गरेको धेरै पाइन्छ । त्यसकारण नेपाल कम्युनिस्ट पार्टीले यस कुराको पुष्टि गर्न वास्तविक कम्युनिस्टकै नाममा भोट मागेर प्रमाणित गर्नुपर्छ । हालै मात्र नेकपाका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विराटनगरमा बोलेछन्– ‘म सक्कली माओवादी होइन ।’ सम्भवतः प्रचण्डका त्यस्ता अभिव्यक्तिले मुलुकको राजनीतिमा कुनै तरङ्ग ल्याउँछ वा केही प्रभाव पर्दैन, यसै भन्न सकिँदैन । हाम्रा कम्युनिस्टहरूको चरित्र, व्यवहार र दर्शन हेर्दा कहीँ–कतै तादत्म्यता मिलेको देखिँदैन । तैपनि आफूलाई कम्युनिस्ट नै भन्न रुचाउनुको पछाडि कुन तत्वले काम गरिरहेको छ भन्नेबारे खोज हुन आवश्यक छ ।

विश्वका दुई सयभन्दा बढी देशमध्ये ज्यादै थोरै देशहरू छन् जसले आफूलाई कम्युनिस्ट भन्न रुचाउँछन् र त्यहीअनुरूप राज्य–व्यवस्था सञ्चालन गरिरहेका पनि छन् । तर, आधुनिक संसारमा अब पनि बन्द समाजको परिकल्पना सम्भवतः मानवतादेखि बाहिरको कुरा हो । मानिस यन्त्र होइन बरु मानिसले यन्त्र निर्माण गरेर मानवजीवनलाई सहज बनाउन सफलता हासिल गरिरहेको छ । यसर्थ अब राज्यका उत्पादनका साधनमाथि राज्यको नियन्त्रण होइन– त्यसलाई अर्थात् उत्पादनका साधनलाई खुला र प्रतिस्पर्धात्मक तथा निजीकरण गरेर छाड्दा कुनै पनि मुलुकले विकासको गतिलाई तीव्रता दिएको पाइन्छ । चीनले पनि जब निजीकरणको नीतिलाई अवलम्बन गऱ्यो– त्यसमा तीव्र गतिमा आर्थिक विकासले फड्को माऱ्यो । यसर्थ हामीजस्तो नेपाली समाज अब उल्टो गति हिँड्ने अवस्था देखिँदैन ।

यदाकदा कम्युनिस्टले आफूलाई कम्युनिस्ट भन्न लाज मान्ने गरेको पाइन्छ । किनकि कम्युनिस्ट आचरण, चरित्र र व्यवहार प्रायः शून्य हुन्छ उनीहरूमा । कम्युनिस्टको नाममा लुट मच्चाएर रातारात धनाढ्य बन्नेहरू कसरी कम्युनिस्ट बन्न सक्छ । वर्तमान सरकारका गतिविधि र मन्त्री तथा नेताहरूलाई हेऱ्यो भने नातावाद, कृपावादबाट मुक्त हुन सकेको पाइँदैन । यसका प्रस्ट उदाहरण क. प्रचण्ड, क. ओली र कमरेड योगेश भट्टराई जसले छोटो समयमा आफ्ना फरियाका नाताहरूसमेतलाई सरकारी नियुक्ति गरेको व्यापक चर्चा छ सामाजिक सञ्जालहरूमा । जुन देशका पार्टीका शीर्ष नेता प्रधानमन्त्री, मन्त्रीहरूले शुद्ध आचरण राख्न सक्दैनन् त्यस देशको विदेशनीति सन्तुलिन रहन सक्दैन । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबाट मात्तिएका कम्युनिस्टहरूले विदेशनीतिलाई सन्तुलित र तटस्थ राख्न सक्ने कुरै भएन । जसको सुइँको अमेरिकाले पायो र आफ्नो प्रतिक्रियासमेत सार्वजनिक गऱ्यो । यसबाट हाम्रो अपरिपक्व कूटनीतिको छनक पाइन्छ ।

नेपालको परराष्ट्र नीतिसमेत असंलग्न हो । असंलग्न राष्ट्रको सदस्यको हैसियतले हालै अजरवैजानमा सम्पन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिनुभयो, भाषण पनि छाँट्नुभयो, तर तद्अनुसारको असंलग्न नीतिको अवलम्बन हुन नसकेको सर्वत्र चर्चा छ । चाहे जे होस्, नेपालको सामुन्ने भूअवस्थितिका कारण अवसरभन्दा चुनौती बढी नै छन् । यदि उत्तर, दक्षिण र पश्चिमाहरूसँग सन्तुलिन व्यवहार र आचरण कायम गर्न सकेको खण्डमा निसन्देह नेपालले प्रचुर अवसरको उपयोग गर्न पाउँछ अन्यथा चुनौतीका पहाडले थिचिने सम्भावना पनि त्यत्तिकै प्रबल देखिन्छन् ।

नेपालमा शक्तिराष्ट्रको आँखा स्वार्थप्रेरित पनि छन् । यति सानो देश नेपालमा किन शक्तिराष्ट्रहरूको यतिबिघ्न चासो छ भन्ने विषय पनि त्यत्तिकै गम्भीर छ । भारत र चीनको आफ्नै स्वार्थ प्रस्टै छ । विश्व बजारमा आफ्नो प्रभुत्व बढाउँदै गएको चीन त्यसका लागि आफ्नो बाटो सहज पनि खोज्दै छ । बीआरआई (बेल्ट एन्ड रोड इनिसियन) अहिले चीनको प्राथमिकतामा छ भने अर्को एसिया प्यासिफिकको कुरा अघि सारिएको छ । नेपाल अहिले यही चेपुवामा परेको भान हुन्छ । तर, नेपाल यस्तो देश हो ‘भोको भन्छ डाँडावारि खाऊँ अघाएको भन्छ डाँडापारि खाउँ’ बीआरआई र एसिया प्यासिफिक स्ट्राटेजीले नेपालले कहिले के पाउने हो थाहा छैन । तर, नेपालीको चुलोमा अहिले नै आगो बाल्नुपरेको छ । त्यसैले नेपाल साँढेको जुधाईमा बाच्छाको मिचाइमा पनि पर्ने खतरा छ । यसैले पनि नेपालले आफ्नो असंलग्न परराष्ट्र नीतिअनुरूप अघि बढ्नुपर्छ । आफ्ना राजनीतिक आस्था र विश्वासका कारणले कतै पनि नझुकीकनै आफ्नो परराष्ट्र नीति सन्तुलित र समन्वयकारी हुनु जरुरी छ । सबैले आ–आफ्नो स्वार्थलाई नै प्राथमिकता राख्ने गर्दछन्– जुन स्वाभाविक पनि हो । हामीले आफ्नो प्राथमिकतालाई शक्तिका अगाडि घुँडा टेकेर छाड्नुहुँदैन । नेपालीको शक्ति भनेकै स्वाभिमान हो ।

यदि कुनै राष्ट्रले नेपालको हितमा केही गर्न चाहन्छ भने नेपालीकै प्राथमिकताकै आधारमा हुनुपर्छ । नेपालको तात्कालिक प्राथमिता के–के हुन् त्यसलाई क्रमशः १, २, ३ गरेर सार्वजनिक गर्नुपर्छ र त्यसरी प्राथमिकता कायम गर्दा यथासम्भव राष्ट्रिय सहमतिका साथ हुनुपर्छ । अनि मात्र नेपालीको स्वाभिमान उचा राख्न सकिन्छ । नेपाल धेरै स्वार्थराष्ट्रहरूको क्रीडास्थल बनेको कुरा कतै छिपेको छैन । नेपालबाट आफ्नो राष्ट्रलाई आँच पुग्ने अवस्था सिर्जना भयो भने कोही पनि चुप नरहन सक्छ भन्ने कुराको पनि हेक्का राख्नु बुद्धिमानी हुनेछ । फ्री तिब्बतको मुद्दा नै चीनको लागि खतरा ठानिएको हुन सक्छ ।

नेपालको भूमि प्रयोग गरेर पश्चिमाहरूले फ्री तिब्बत मुद्दालाई निशाना बनाएकै हुन् भने त्यस्ता गतिलाई पूर्ण रूपले निस्तेज पार्नुपर्छ । होइन आरोप मात्रै हो भने अर्कै कुरा हो । कहिलेकाहीँ नेपालको सार्वभौमिकता, राष्ट्रिय अखण्डता र अभिभाज्यतामाथि नै पो खतरा आइपर्ने हो कि जस्तो पनि भान पर्न जान्छ । उत्तरतिरको चासो र दक्षिणतिरको नग्नताले हाम्रो राष्ट्रियतालाई कताकता चिसो महसूस हुन्छ । यसर्थ पनि नेपालको परराष्ट्र नीति अत्यन्त सन्तुलित र तटस्थ हुनु जरुरी छ । सन्तुलित र तटस्थ परराष्ट्र नीतिको अभावमा नेपालले अवसरभन्दा पनि धेरै चुनौतीहरूको सामना गर्न बाध्य हुनेछ । त्यसकारण भूअवास्थितिका चुनौती र अवसरको यथार्थपरक विश्लेषण गर्दै अघि बढ्नु नेपालको हितको पक्षमा हुनेछ ।