नेकपाविरुद्ध राजपालाई समाजवादी पार्टीको सर्मथन

नेकपाविरुद्ध राजपालाई समाजवादी पार्टीको सर्मथन


■ हेमशंकर सिंह, राजविराज

मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा रिक्त रहेको वडाध्यक्ष पदका लागि ९ जनाले उम्मदेवारी दर्ता गराएका छन् ।

नेकपाको तर्फबाट अच्छेलाल यादव, नेपाली कांग्रेसका तर्फबाट शिव नारायण मण्डल, राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट प्रमिला देवी यादवले मनोनयन दर्ता गराएका छन् भने राजपाकी उम्मदेवार यादवलाई समाजवादी पार्टीले पनि समर्थन जनाएको छ ।

यसैगरी, राप्रपाका गजेन्द्र मण्डल, नेपाल लोकतान्त्रिक पार्टीबाट सकलदेव साह र सिके राउत नेतृत्वको जनमत पार्टीका दिनेश कुमार यादव र नुरहुसन मंसुरीसहित तीन जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिश चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनवाट निर्वाचित वडाध्यक्ष प्रभाकर यादव जिल्ला समन्वय समितिको प्रमुख पदमा निर्वाचित भएपछि रिक्त हुनपुगेको सो पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

बुधबार मनोनयन दर्ताको क्रममा नेकपा, राजपा र समाजवादी पार्टीको जिल्लादेखि केनिद्रय स्तरका नेता तथा सांसदहरु समेत छिन्नमस्तास्थित निर्वाचन कार्यालय पुगेका थिए ।

उपनिर्वाचन नेकपा र राजपाका लागि भने प्रतिष्ठाको विषय बन्न पुगेको छ । यसअघि राजपा सो पदमा विजयी भएकाले जसरी पनि जितेर आफनो प्रतिष्ठा जोगाउन चाहन्छ भने पार्टी एकीकरणपछि हुन लागेको चुनाव जितेर जिल्लामा नेकपा बलियो रहेको सन्देश दिन चाहन्छ ।

आन्तरिक रुपमा नेकपा जिल्लामा दुई चिरामा विभाजित रहे पनि उम्मेदवारको चयन भने सर्वसम्मत गरेको छ ।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका अच्छेलाल यादव त्यतीबेला वडा अध्यक्षमा निर्वाचित राजपाका प्रभाकर यादवसँग ८ मतको झिनो अन्तरले पराजित भएका थिए । यसपटक नेकपाले भने उनलाई उम्मेदवार बनाएको छ । समाजवादी पार्टीको स्थिति त्यती राम्रो नरहेकै कारण उसले राजपालाई सघाएको छ ।

६ सय ४६ महिला तथा ७ सय ५७ पुरुष गरी कुल १ हजार ४ सय ३ मतदाता रहेको वडा नं. ७ मा दुई मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा १ हजार १ सय ७५ मतदाता रहेकोमा अहिले २ सय २८ मतदाता थपिएर जम्मा मतदाता १ हजार ४ सय ३ पुगेको छ ।

२८ कार्तिकमा (आज बिहीबार) उम्मेदवारको विरोधमा उजुरी दिने, २९ कार्तिकमा मनोनयन पत्र र उजुरीको विषयमा जाँचबुझ गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ । यस्तै, ३० कार्तिकमा उम्मेदवारको नाम फिर्ता र सोही दिन उम्मदेवारको अन्तिम नामावली प्रकाशन गर्ने, १ मंसिरमा उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने अनि १४ मंसिरमा विहान ७ बजे देखि साझ ५ बजे सम्म मतदान हुने कार्यक्रम रहेको छ ।