प्रदूषणका कारण तेहरानका विद्यालय बन्द

प्रदूषणका कारण तेहरानका विद्यालय बन्द


वायु प्रदूषणको अवस्था उच्च भएपछि इरानको राजधानी तेहरानका विद्यालयहरू बन्द गर्न निर्देशन दिइएको छ । प्रदुषणले अत्यधिक असर पार्ने अवस्था रहेकोले विद्यालयहरू बन्द गर्न निर्देशन दिइएको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

गभर्नर अनौशिराभन मोहसेनी बान्डपीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार पूर्वविद्यालय (किन्नर गार्डन), पूर्व प्राथमिक र प्राथमिक विद्यालयहरू बन्द गर्न निर्देशन दिइएको छ । राजधानी तेहरानसँगै घार्चक, पिश्भा र वारामिनलगायतका शहरका विद्यालयहरू पनि बन्द भएका बान्डपीले जनाएका छन् ।

तेहरानको वायुको गुणस्तर मापन सूचकाङ्क संवेदनशील समूहका लागि खतरा अवस्थामा पुगेको पाइएको सम्बद्ध अधिकारीहरूको भनाई छ ।

बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र रोगी मानिसलाई यस्तो प्रदूषणले बढी असर गर्ने भएकाले सकेसम्म घर बाहिर कम मात्रै निस्कन विज्ञहरूले सुझाव दिएका छन् । प्रदूषणका कारण उत्पन्न बाक्लो हुस्सुले तेहरानलाई मङ्गलबार ढाकेपछि बुधबार (२७ कात्तिक) बिहानैदेखि निकै काम मात्र विद्यालय बस सञ्चालन भएका थिए ।

इरानमा प्रदूषणकै कारण उत्पन्न अनेक समस्या र रोग लागेर हरेक वर्ष ३० हजार इरानी नागरिकको मृत्यु हुनेगरेको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । हरेक वर्षको हिउँदयाममा तेहरानमा प्रदूषणका कारण उत्पन्न हुने असरहरू बढी देखिने गरेको पाइएको छ ।