लठ्याउने सुई लगाई आफन्तबाटै बालिकाको बिक्री

लठ्याउने सुई लगाई आफन्तबाटै बालिकाको बिक्री


लठ्याउने सुई लगाई १५ वर्षीया बालिका आफन्तबाटै बेचिएको खुलासा भएको छ । काठमाडौंको एक होटलमा काम गर्दै गर्दा आफन्त पर्ने नुवाकोट सूर्यगढी गाउँपालिका–६ घर भई हाल ललितपुरको चापागाउँ बस्ने कान्छी तामाङ (सुनिता तामाङ) भन्ने कृष्णमाया लामाले बालिकालाई पढाई दिने प्रलोभनमा पारेर भारतमा बेचेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा अभियुक्त लामाले २०६८ सालमा आफ्नै नजीकको नाता पर्ने बालिकालाई बान्ता आउने औषधि भन्दै लठ्याउने औषधि खुवाएर बेहोस तुल्याई बेचेको खुल्न आएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।

आरोपी लामालाई आठ वर्षपछि बुधबार (२७ कात्तिक) प्रहरीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित देउवाचोकबाट पक्राउ गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोप लागेका सोही ठाउँका ४२ वर्षीय शेरबहादुर लामा भने फरार रहेको प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोलाई उद्धृत गर्दै राससले जनाएको छ ।

कृष्णमायाले बालिकालाई घर जाने बहानामा बसमा चढाई बान्ता नआउने औषधि भनी लठ्याउने औषधि खुवाएर भारत लगेको र उनी होसमा आउँदा भारतको मधुन भन्ने ठाउँमा पुगेको खुल्न आएको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए । लामाले दोस्रो दिन सोही ठाउँको एक कोठी सञ्चालक लक्ष्मी र हेमालाई १० हजार भारतीय रुपैयाँमा बेचेको पनि ब्यूरोले जनाएको छ ।

बालिकालाई कोठी सञ्चालकले करिव एक महिना कोठामा बन्धक बनाई शारीरिक ढाँचा वृद्धिका लागि सुईको प्रयोग गरी औषधि खुवाएको अनुसन्धानबाट पत्ता लागेको छ । त्यसपछि भारतको नयाँ दिल्लीस्थित कोठी नं ५११ मा दुई, कोठी नं ६४ मा दुई वर्ष र कोठी नं ४० मा १५ दिन राखी यौनधन्दामा लगाइएको थियो ।

सोही क्रममा एक नेपाली ग्राहकलाई बालिकाले पीडा सुनाएपछि उनकै पहलमा बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उनले बालिकालाई उद्धार गरी माइती नेपालमा ल्याएका थिए । माइती नेपालले बालिकालाई यही कात्तिक २० गते ब्यूरोमा बुझाएको थियो । उनको जाहेरीका आधारमा प्रहरीले अभियुक्त लामालाई बुधबार नै पक्राउ गरेको हो ।