सीमा–विवाद समाधान गर्न नेपाल रिपब्लिक पार्टीको बेग्लै माग

सीमा–विवाद समाधान गर्न नेपाल रिपब्लिक पार्टीको बेग्लै माग


नेपालको सुदूरपश्चिमी भूभाग कालापानी–लिपुलेक, भारत सरकारद्वारा हालै प्रकाशित भारतको राजनीतिक नक्शामा समावेश भएको बारे नेपाल रिपब्लिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको सो पार्टीका प्रेसिडेन्ट सिदार्थ गौतमले जनाएका छन् । आफ्नो पार्टी राष्ट्र र राष्ट्रियताप्रति अत्यन्त संवेदनशील रहेको दाबी गर्दै प्रेसिडेन्ट गौतमले उक्त क्षेत्र र अन्यत्रको समेत सीमा विवाद उच्चस्तरीय द्विपक्षीय कूटनीतिक, राजनीतिक अग्रसरताद्वारा शीघ्रातिशीघ्र समाधान गर्न जोडदार माग गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्– ‘पंचशीलमा विश्वास गर्ने नेपाल कुनै पनि देशको भूमि अखण्डित रुपमा कायम रहिरहनुपर्छ भन्ने मान्यता राख्छ र हाम्रो पार्टी पनि सो मान्यतामा अडिग छ । कुनै पनि क्षेत्रको सीमा विवादले नेपाल–भारतबीच सदियौँदेखि रहीआएको मैत्रीपूर्ण सम्बन्धमा खलल नपरोस् र त्यस्तो विवादले विशेष गरी नेपाली जनमानसमा मित्रदेश भारतप्रति नकारात्मक भावना विकसित हुन नपुगोस् भन्नेमा दुवै मुलुकका सरकारहरू संवेदनशील हुनुपर्छ र यो समस्या पहिलो प्राथमिकताका साथ समाधान गर्न अग्रसर हुनुपर्छ ।’

भारतीय नक्शामा दशकौँदेखि उक्त भूभाग समावेश रहँदै आएको र पछिल्लो पटक प्रकाशित नक्शामा नेपालसँगको सीमा त्यसभन्दा फरक नभएको वस्तुतथ्य थाहा नपाएजस्तो गरी यस मामिलालाई अनावश्यक रुपमा उछाल्ने सत्तारुढ दल नेकपाको प्रवृत्तिलाई नेपाल रिपब्लिक पार्टीले सतर्कतापूर्वक अवलोकन गरिरहेको खुलासा गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ– ‘यसबारे यति लामो समयसम्म मौन धारण गर्नु र अहिले मात्र यो मामिला उछाल्नुले यसका पछाडि रहस्यमय कारण रहेको हाम्रो पार्टीको आँकलन छ ।’

‘शान्त र गम्भीर कूटनीतिक प्रयासबाट समाधान गर्नुपर्ने सीमा क्षेत्रको मामिला सत्तारुढ पार्टी र उसका समर्थक पक्षहरूद्वारा सडकमा उछालिनु कूटनीतिक अपरिपक्वता मात्र नभएर पोखरीको पानी धमिल्याई माछा मार्ने निहित स्वार्थी अभिप्रायको खेल हो भन्ने हाम्रो धारणा छ । राष्ट्रहितमा गम्भीर असर पार्ने यस्ता खेल बन्द गर्न नेपाल रिपब्लिक पार्टी सत्तारुढ नेकपा र उसका समर्थकलाई चेतावनी दिन चाहन्छ ।’

यति मात्र नभई उत्तरी छिमेकी कम्युनिष्ट मुलुक चीनले पनि नेपाली भूमि ११ ठाउँमा सीमा मिचेको र आधा दर्जन सीमास्तम्भ उखेलिएको आधिकारिक तथ्यांक सार्वजनिक भएको प्रसिडेन्ट गौतमले दाबी गरेका छन् । ‘सरकारी अभिलेखमा रहेको उक्त तथ्यांकले कम्युनिष्ट चीनको मिचाहा प्रवृत्ति मात्र उजागर गरेको नभई यसबारे नेपालको कम्युनिष्ट पार्टीको सरकारले चुइँक्कसम्म नबोलेको घटनाले उसले चीनको बलमिचाई र प्रभुत्व सहर्ष स्वीकार्ने तथ्य पनि उजागर गरेको’ उनको भनाई छ ।

यसबारे गोतमले विज्ञप्तिमा अगााडि भनेका छन्– ‘नेपाल रिपब्लिक पार्टी यो राष्ट्रघाती प्रवृत्तिप्रति वर्तमान सरकारको अनि यो मिचाहा प्रवृत्तिप्रति कम्युनिष्ट चीनको घोर भत्सर्ना गर्दछ र समग्र नेपाली जनतालाई यसतर्फ सावधान हुन अपील गर्दछ ।’

आधा सगरमाथा नेपालबाट पहिल्यै खोसिसकेको चीनले कालापानीको भू–भागमा भारतसँग सम्झौता गरेर त्यसको जानकारीसम्म नेपाललाई नदिएको घटनाले उसको मित्रताको मखुण्डो फुस्केर असली अनुहार उदाङ्ग भइसकेको ठहर आफ्नो पार्टीले गरेको गौतमले जनाएका छन् । यसबारे नेपाल सरकार र खासगरी परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गर्दै तत्काल आवश्यक कदम चाल्न पार्टीका तर्फबाट उनले जोडदार आग्रह गरेका छन् । अन्यथा चीनले मिचेको नेपाली भूमि फिर्ता लिन नेपाली जनता उठ्नुपर्ने निष्कर्ष सुनाउँदै प्रेसिडेन्ट गौतमले समस्त राष्ट्रप्रेमी पक्ष तथा नेपाली जनतालाई यसका निम्ति तयार रहन अपील गरेका छन् ।