रोग र प्रचण्ड दुवैबाट तत्कालका लागि केपी सुरक्षित

रोग र प्रचण्ड दुवैबाट तत्कालका लागि केपी सुरक्षित


प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पार्टीभित्रैबाट हुने गरेका गतिविधिहरूमा शिथिलता आएको छ । केही महिना अघिसम्म प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतम केपीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने कसरतमा रहनुभएकोमा विगत चार महिनादेखि वामदेव केपीको कित्तामा उभिनुभएको छ । माधवकुमार नेपाल पनि किंकर्तव्यविमुढ बन्नुभएको छ । केपीका विरुद्ध होसियारीपूर्वक चालिएका कदमले केपीलाई क्रूद्ध बनाएपछि माधव नेपाल आफैँ डराउनुभएको छ । अब चलखेल गर्दा केपीले बालुवाटार जग्गा प्रकरण या त्यस्तै कुनै काण्डमा फसाउन सक्ने ठानेर पनि माधव नेपाल शिथिल बन्नुभएको विश्वास गरिन्छ ।

केपीलाई विस्थापित गर्न सर्वाधिक क्रियाशील रहँदै आउनुभएका प्रचण्ड पनि केपीको स्वास्थ्यस्थिति कमजोर बनेको विश्वास भएपछि शान्त बन्नुभएको छ । दुई साताअघि प्रधानमन्त्री ओली सिकिस्त बिरामी भई अस्पताल भर्ना हुँदा ओलीको स्वास्थ्यस्थितिबारे स्पष्ट हुन प्रचण्ड तत्कालै अस्पताल पुग्नुभएको थियो । ओलीको ‘डायलाइसिस’ भएको कुरालाई गोप्य राख्न खोजिएको भए पनि प्रचण्डले नै सार्वजनिक गरिदिनुभएको थियो ।

अब प्रचण्ड पनि तत्काल केपीका विरुद्ध कुनै प्रकारको गतिविधि नगर्ने मानसिकता बनाएर बस्नुभएको छ । केपीको स्वास्थ्यमा सुधार आउने र अब धेरै समय उहाँ सक्रिय रहन सक्ने विश्वासमा प्रचण्ड हुनुहुन्न ।

निरन्तर ‘डायलाइसिस’ गर्नुपर्ने अवस्थामा केपी पुगेको तथ्य चिकित्सकहरूबाट बुझेपछि प्रचण्ड आफू सत्तारुढ हुने दिन नजिकै रहेको भनी ढुक्क हुनुभएको छ । अब तत्काल प्रचण्ड पनि केपीका विरुद्ध कुनै प्रकारको गतिविधि नगर्ने मानसिकता बनाएर बस्नुभएको छ । केपीको स्वास्थ्यमा सुधार आउने र अब धेरै समय उहाँ सक्रिय रहन सक्ने विश्वासमा प्रचण्ड हुनुहुन्न । तर, चमत्कार भयो र केपीले सजिलै आगामी तीन वर्ष गुजार्ने सम्भावना बढेर गयो भने प्रचण्डले के गर्नुहोला सो भने यकिन गर्न सकिने स्थिति छैन । पार्टीमा आफ्नो स्थिति अनुकूल बन्न माधवकुमार नेपाल र वामदेव गौतमलगायतको साथ प्रचण्डलाई अनिवार्य रूपमा हुनुपर्ने हुन्छ । नेपाल र गौतमले आफूलाई साथ दिने विश्वास गर्न प्रचण्डले सकिरहनुभएको छैन । त्यसैले तत्कालका लागि केपीसँग मिल्ने र मिल्दा प्राप्त हुने भाग लिएर चित्त बुझाउने स्थितिमा प्रचण्ड हुनुहुन्छ ।

केपी होसमा रहिन्जेलसम्म उहाँले प्रधानमन्त्री र पार्टी अध्यक्ष पद छोड्नुहुन्न भन्ने तथ्यलाई आत्मसात् गरिसक्नुभएका प्रचण्डले केपीपछि पनि प्रधानमन्त्री र एकलौटी अध्यक्ष बन्न मुस्किल हुन सक्ने देख्न थाल्नुभएको बुझिन्छ । एमाले कित्ता पूरै एकातिर उभिएको अवस्थामा आफू फेरि पनि रक्षात्मक स्थितिमा हुनुपर्ने ठानेर हुन सक्छ, पछिल्लो समयमा प्रचण्डका अभिव्यक्ति र शैली बदलिएझैँ देखिएको छ ।

यसबीचमा प्रचण्डले प्रधानमन्त्रीको कार्यकाल आधा–आधा गर्ने गरी पहिले केपी ओलीसँग सहमति भएको भन्ने कुराको समेत औचित्य नरहेको भनी सार्वजनिक रूपमै बताउनुभएको छ । केही महिनाअघिसम्म आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्न सहमति भएको दाबी गर्दै सहमति पालना गर्न केपी ओलीलाई चेतावनी दिनुहुने प्रचण्डले पछिल्लो समय बोली फेर्नुको कारण पनि ओलीको स्वास्थ्यस्थिति कमजोर हुनुलाई मानिएको छ । ओली अस्पताल भर्ना हुनुभन्दा अघिल्लो दिनसम्म आक्रामक प्रचण्ड ओलीको अवस्था साँच्चै कमजोर भएको विश्वासका कारण ‘शान्त’ र ‘स्थिर’ हुनुभएकोले कुन दिन उहाँले ओलीको स्वास्थ्य राम्रो हुँदै गएको ठान्नुहुन्छ र फेरि आक्रामक बन्नुहुन्छ त्यसको निश्चितता छैन । तथापि तत्कालका लागि प्रधानमन्त्री केपी ‘सुरक्षित’ हुनुभएको छ ।

दिनहुँ डायलाइसिस गरिनुपर्ने भनिए पनि कैयन दिनदेखि लायलाइसिसबिना नै उहाँ स्वस्थ रहनुभएको छ । ओलीको मिर्गौलाले फेरि बिस्तारै काम गर्न थालेको बताइएको छ । आफू सुरक्षित भएको महसूस गरेसँगै केपीले आफ्ना सल्लाहकार तथा सचिवालयको पूरै टिम बदल्ने तत्परता लिनुभएको छ भने मन्त्रिमण्डलमा समेत व्यापक फेरबदलको गृहकार्य शुरु भइसकेको बुझिन्छ । रोग र प्रचण्डबाट पालैपालो प्रताडित हुँदै आउनुभएका प्रधानमन्त्री केपी ओलीले यतिबेलाचाहिँ केही राहत महसूस गर्नुभएको छ । अबको समय पनि पूर्ण सदुपयोग गर्न सक्नुभएन भने केपी ओली पनि इतिहासका अन्य कतिपयझैँ असफल र निकम्मा प्रमाणित हुनेमा भने शङ्का गर्नुपर्ने छैन ।