नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद राजनीतिक भेटघाटमा व्यस्त

नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिद राजनीतिक भेटघाटमा व्यस्त


मंगलबारदेखि नेपालको चारदिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार राजनीतिक भेटघाटमा व्यस्त रहने भएका छन् ।

यसैक्रममा हमिद र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

मंगलबारदेखि चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति हमिदलाई भेट्न प्रचण्ड बुधबार बिहान उनी बसेको होटेल म्यारियट पुगेका थिए ।

प्रचण्डभन्दा अघि हमिदलाई भेट्न राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना पनि सोही होटेलमा पुगेका थिए ।

आजै २ बजे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ भने २ः४० मा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति हमिदबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

हमिदले आजै अपराह्न साढे ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीसँगको भेटवार्तापछि राष्ट्रपति हमिद उनकै सम्मानमा आयोजित रात्रिभोजमा सहभागी हुनेछन् । हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्यस्थित होटेल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोजको आयोजना गरेकी छिन् ।