छुट्टाछुट्टै चार दुर्घटनामा पाँचको मृत्यु

छुट्टाछुट्टै चार दुर्घटनामा पाँचको मृत्यु


पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिंगेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा.२क २९२० नम्बरको टिपर सडकबाट करिब सय मिटर तल झरेर दुर्घटना भएको हो ।

दुवैजनाको घटनास्थलमै मृत्यु भएको र शवलाई परीक्षणका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै, सुनसरीको कोसी गाउँपालिका–४ कोसी कटान क्षेत्रमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा पृथ्वीनगर–४ का २९ वर्षीय दिपेश मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । स.१झ २६८ नम्बरको गाडीले को.३०प ५३०१ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार मुखियाको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक दमक–१० का ३० वर्षीय योगेशकुमार धिमालको विराटनगरमा उपचार भइरहेको छ ।

ठक्कर दिने गाडी र चालक नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

उता, पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रिंकला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मंगलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासि उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शंकर विक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सगरमाथा क्षेत्र घुम्न आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । कात्तिक १९ खुम्बु क्षेत्र आएका ७२ वर्षीय फ्रान्सेली नागरिक आर्मोड हाइबाचको सुतैको ठाउँमा ज्यान गएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ लबुचेस्थित नेसनलपार्क होटलमा मंगलबार बिहान ६ः४५ मा उनी मृत अवस्थामा भेटिएका हुन् ।

इलाका प्रहरी चौकी नाम्चेबाट घटनास्थलमा पुगेको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेपछि डाइनेस्टिक हेलिकोप्टरमार्फत शवको परीक्षण गर्न शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

उनी एडभेन्चर प्रालि काठमाडौंमार्फत खुम्बु भ्रमणमा आएका थिए । यो वर्ष चारजना विदेशी पर्यटकको सुतेकै ठाउँमा ज्यान गइसकेको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

रासस