रूपज्योतिको असली रूप !

रूपज्योतिको असली रूप !


मखमली आवरणमा विषालु काँडाको व्यवहार गर्ने व्यापारीका रूपमा चिनिने रूपज्योति ठगी मुद्दामा पक्राउ परेपछि उनले आफूलाई षड्यन्त्रमूलक ढङ्गले फसाउन खोजेको भन्दै आममानिसको सहानुभूति प्राप्त गर्ने प्रयासमा लागेका छन् ।

ल्याण्डमार्क डेभलपर्स प्रा.लि. नामक कम्पनीका मूख्य लगानीकर्ता रहेका रूपज्योतिमाथि १ करोड ३६ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ । महाराजगञ्जस्थित बाँसबारी एरियामा घर–घडेरी दिने भनेर पैसा लिएर पनि नदिएपछि पीडित विजेन्द्रकृष्ण मल्लले रुपज्योतिविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । तथ्य प्रमाणले रूपज्योतिबाट ठगी भएको आधार प्रहरीले फेला पारेको छ ।

बाहिर छवि अत्यन्त राम्रो भएका रूपज्योतिमाथि केही वर्षअघि आफ्नै सासूको हत्या गराएको आरोप पनि लागेको थियो । खिचापोखरीस्थित अर्बपति बिर्जुरत्न तुलाधरकी छोरीसँग वैवाहिक सम्बन्ध कायम गरेका रूपज्योतिले बिर्जुरत्नलाई अल्जाइमर भएपछि सौताने सासूआमा चन्दा तुलाधरलाई हत्या गर्न लगाई सम्पूर्ण सम्पत्ति हत्याएको आरोप लागेको थियो ।

बाथरुममा लडेर मृत्यु भएको भन्दै अन्त्येष्टिमा लैजान खोज्दा चन्दाको माइती पक्षको जोडमा पोस्टमार्टम गराएको र पोस्टमार्टम रिपोर्टमा गह्रुँगो साधनले छातीमा प्रहार भई मृत्यु भएको भनी उल्लिखित थियो । पोस्टमार्टम रिपोर्टले हत्याको सङ्केत स्पष्ट रूपमा गरे पनि त्यसबेला प्रहरीले समेत आवश्यक अनुसन्धान तथा कारबाहीको प्रक्रिया अघि बढाउने आँट गरेको थिएन ।

अहिले ससुरा बिर्जुरत्नको पनि निधन भइसकेको छ र सासूससुराको सबै सम्पत्ति रूपज्योतिको कब्जामा पुगेको छ । चन्दा हत्या प्रकरणको छानबिन तथा अनुसन्धान गरियो भने रूपज्योति कानूनी कारबाहीको दायरामा तानिने सम्भावना अहिले पनि भएको बताइन्छ ।