भारतविरुद्ध संघर्ष गर्ने तरुण दलको चेतावनी

भारतविरुद्ध संघर्ष गर्ने तरुण दलको चेतावनी


■ एस क्षेत्री, कपिलवस्तु

नेपाल तरुण दल कपिलवस्तुले भारतविरुद्ध कडा संघर्ष गर्ने जनाएको छ । भारतले नयाँ राजनैतिक नक्सा सार्वजनिक गरेकोमा सर्वत्र विरोध भइरहेको अवस्थामा तरुण दल कपिलवस्तुले पनि संघर्षमा उत्रने चेतावनी दिएको हो ।

एक प्रेस विज्ञप्ती जारी गर्दै दलले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भुभाग भएकाले भारतले नेपालमाथि ज्यादती गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतले सार्वजनिक गरेको नयाँ नक्साले सम्पूर्ण नेपालीको अस्मितामा आँच आउने काम गरेकोले त्यसका विरुद्ध संघर्ष गर्ने जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘सन् १८१६ मा नेपाल अंग्रेज शासित भारतबीच सम्पन्न सुगौले सन्धीले किटान गरेका महाकालीपूर्वका भूगागहरु नेपालका हुन् भन्ने ब्यहोराबाट ती सबै भूभाग नेपालको यथार्थ रहेको कतै छिपेको छैन । यस यथार्थलाई कुल्चेर भारतले नेपालमाथि गरेको यो हेपाहा प्रवृत्तिले सम्पूर्ण नेपालीहरु दुःखी भएका छन् ।’

यस प्रकारको भारतीय दादागिरीविरुद्ध सरकारले पनि ठोस ढंगले कदम चाल्न नसकेको प्रति पनि तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ ।

भारतले नेपालमाथि ज्यादती गर्दा पनि नेपाल सरकार मुकदर्शक बनेकाले अब सरकारविरुद्ध पनि संघर्ष आवश्यक भएको तरुण दलको ठहर छ । दलले भनेको छ ‘भारतविरुद्ध त संघर्ष छ नै नेपाल सरकारविरुद्ध पनि संघर्ष गर्ने बेला आयो ।’ यदि भारत नसच्चिए र सरकारले पनि ठोस ढंगले कदम नचाले दुवैका विरुद्ध तरुण दलले थप कठोर कदम चाल्न बाध्य हुने अध्यक्ष ठकुरीले चेतावनी दिए । तरुण दलले अहिले विरोध गर्ने र त्यति गर्दा पनि भारतीय कदम नसच्चिए चरणबद्ध आन्दोलन गर्ने उनको भनाई छ ।

सदियौँदेखि समस्याको रुपमा रहेको नेपाल भारत सम्बन्धलाई मजबुत गराउन अब उच्चस्तरको कुटनैतिक पहल आवश्यक रहेको पनि तरुण दलको ठम्याइ छ ।