भारतीय नक्साको विरोधमा जापानमा ज्ञापनपत्र बुझाइने

भारतीय नक्साको विरोधमा जापानमा ज्ञापनपत्र बुझाइने


■ श्याम क्षेत्री, टोकियो

हालै भारतले जारी गरेको नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतको भूभागमा देखाएकोप्रति गैरआवासीय नेपाली संघ, जापानको अगुवाईमा टोकियोमा शान्तिपूर्ण विरोध ऱ्यालीको आयोजना गरिने भएको छ ।

एनआरएनए जापानका महासचिव जनकविक्रम शाहीका अनुसार जापानस्थित समग्र नेपाली समुदायको ध्यानाकर्षण भइरहेको सन्दर्भमा जापानस्थित भारतीय दूतावासमा जापानमा रहेका सम्पूर्ण संघ संस्था तथा बुद्धिजीवीहरुको सहकार्यमा शान्तिपूर्ण ऱ्यालीसहित ज्ञापनपत्र बुझाउन लागिएको हो ।

तालिकाअनुसार यही नोभेम्बर १८ तारिख बिहान १० बजे शान्तिपूर्ण विरोध ऱ्यालीको आयोजना गर्दै जापानस्थित भारतीय राजदुतावासमा ज्ञापनपत्र बुझाइने छ । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीका अनुसार सो कार्यक्रमका लागि स्थानीय प्रशासनसँग अनुमति पनि लिइसकिएको छ ।

एनआरएनए जापानबाट प्राप्त जानकारीअनुसार विभिन्न संघ संस्थाका पदाधिकारीसँग एक चरणको परामर्श तथा छलफल गरी जानकारी गराइसकिएको छ । साथै, एनआरएनए जापानले जापानमा क्रियाशील सम्पूर्ण संघ संस्था तथा बुद्धिजीवी वर्गहरुमा सहभागिताको लागि आह्वान पनि गरेको छ ।