नेकपा सचिवालय बैठक शुरु

नेकपा सचिवालय बैठक शुरु


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहान नौ बजेदेखि शुरु भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा १४ मंसिरको उपनिर्वाचन, भारतसँगको सीमा विवाद र मन्त्रिपरिषद पुनर्गठनबारे छलफल भइरहेको स्रोतले बताएको छ ।

बैठकमा पार्टीका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णुप्रसाद पौडेलसहित सचिवालय सदस्यहरू पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी रहेका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालयका सल्लाहकारलगायतलाई राजीनामा दिन आग्रह गरिसकेका छन् । आगामी उपनिर्वाचनपछि मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी भइरहेको चर्चासँगै यही विषय बैठकमा छलफलको मुख्य एजेन्डा बन्ने अनुमान गरिएको छ । यसका साथै मंसिर १४ मा हुन लागेको उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने विषय पनि छलफलको एजेन्डा बनेको छ ।

हालै भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालका भूभाग आफ्नो क्षेत्रमा पारेपछि त्यस क्षेत्रलाई फिर्ता गर्ने विषयमा पनि पार्टीको आधिकारिक धारणा बैठकले तय गर्ने बुझिएको छ ।