संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेट ‘व्यक्तिगत कोष’ भएको प्रचार गरिएपछि…

संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेट ‘व्यक्तिगत कोष’ भएको प्रचार गरिएपछि…


■ हेमशंकर सिंह, राजविराज

राष्ट्रियसभा सदस्य जीतेन्द्र नारायण देवले संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रमको बजेट उपेन्द्र यादवको व्यक्तिगत कोष नरहेको धारणा सार्वजनिक गरेका छन् ।

नेपाली काग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका देवले आइतबार एक विज्ञप्ति जारी गरी संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटलाई उपेन्द्र यादवको पार्टीले यादवको व्यक्तिगत कोष भनी प्रचार गरेको भन्दै त्यसप्रति आपत्ति जनाएका हुन् ।

सप्तरीको संसदीय निर्वाचन क्षेत्र नं. २ को संसदीय क्षेत्र पुर्वाधार विकास कार्यक्रमअन्तर्गतको ६ करोड बजेटबाट राजविराजको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने निर्णय शनिबार (२३ कात्तिक) जिल्ला समन्वय समितिको सभाहलमा बसेको स्थानीय पुर्वाधार विकास कार्यक्रम परामर्श समितिको योजना छनोट बैठकले गरेको थियो ।

सो निर्णय संयोजक उपेन्द्र यादवको व्यक्तिगत नभई समितिको सामुहिक र सर्वसम्मत निर्णय भएको देवले विज्ञप्तिमा स्पष्ट पारेका छन् । विज्ञप्तीमा उनले अगाडी भनेका छन्, ु…सो निर्णयलाई उपेन्द्र यादवको व्यक्तिगत कोषबाट विनियोजित निर्णय हो भनी यादवको पार्टीबाट जुन ढंगले प्रचारप्रसार भइरहेको छ, त्यसप्रति मेरो घोर आपत्ति छ र सो दुष्प्रयासप्रति गहिरो खेद व्यक्त गर्दछु ।ु

बैठकमा भने देव स्वयं उपस्थित नरहेका श्रोतले जनाएको छ । संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद उपेन्द्र यादव संयोजक रहेको सो समितिमा त्यस क्षेत्रका राष्ट्रिय सभा सदस्य जीतेन्द्र नारायण देव, राजपाबाट सामानुपातिक कोटाकी सांसद दुलारी देवी खंगसहित सोही क्षेत्रमा पर्ने राजविराज नगरपालिकाको नगरप्रमुख, महदेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सदस्य रहने प्रावधान छ ।

सो क्षेत्रभित्र पर्ने चार स्थानीय तहमध्ये दुईमा यादवकै समाजवादी पार्टी र दुई स्थानीय तहमा राजपाको नेतृत्व रहेको छ ।

सोही बैठकले राजविराजस्थित महेन्द्र विन्देश्वरी क्याम्पसमा इन्जिनियरिङको पठनपाठन कुनै कारणवश सञ्चालन हुन नसके २ नम्बर क्षेत्रभित्र रहेका तीनवटै गाउँपालिकास्थित विद्यालयहरुको भवन निर्माणका लागि दुई करोडका दरले रकम उपलब्ध गराउने बैकल्पिक निर्णयसमेत गरेको राजविराज नगरपालिकाको प्रमुख शम्भु यादवले बताए ।

सप्तरीको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवको संयोजकत्वमा रहेको कार्यक्रम निर्देशक समितिले स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्राप्त भएको ६ करोड बजेट राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको हाताभित्र स्नातक तहको इन्जिनियरिङ कक्षाको पठनपाठनमा लगाउने निर्णय गरेको थियो ।

समितिको शनिवार राजविराजमा सम्पन्न बैठकले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्विकृति लिएर त्रिभुवन विश्व विद्यालयको सम्बन्धनमा कामअघि बढाउने सर्तमा भौतिक पुर्वाधार तयार गर्न रकम खर्च गरिने निर्णय गरेको जिल्ला समन्वय समितिका निमित्त जिल्ला समन्वय अधिकारी नवराज खड्काले बताए ।

सो क्याम्पस ३ न. क्षेत्रमा पर्ने भएकाले सो क्षेत्रवाट निर्वाचित सांसद चन्द्रकान्त चौधरी र क्याम्पस प्रमुख डा. सर्वेशचन्द्र मिश्रलाई समेत बैठकमा बोलाई सहमति लिइएको थियो ।

क्षेत्र न. २ बाट निर्वाचित सांसद यादवले क्षेत्र न. ४ बाट निर्वाचित सांसद चौधरीलाई उनको क्षेत्रको बजेटबाट समेत सहयोग गर्न आग्रह गरेका थिए । तर, चौधरीले आफ्नो क्षेत्रको बैठक बसी यादवको प्रस्तावउपर छलफल गर्ने बताएका थिए ।

यसअघि स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको गत वर्षको चार करोड बजेटबाट राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा नर्सिङ क्याम्पस स्थापना गरिएको थियो ।

यता निर्वाचन क्षेत्र नं. ४ को बजेट स्थानीय तहअनुसार विभाजन गरिएको छ । सुरुङ्गा नगरपालिकामा ८ वटा योजनामा २ करोड १० लाख, खडक नगरपालिकामा ८ वटा योजनाका लागि २ करोड ४३ लाख, बोदेवरसाइन नगरपालिकामा ६ वटा योजनाका लागि १ करोड ३७ लाख र वलान विहुल गाउँपालिकामा एक योजनाका लागि १० लाख रुपैयाँ वजेट छुट्याईएको कार्यक्रम निर्देशक समितिका संयोजक तेजुलाल चौधरीले जानकारी दिए ।

कार्तिक १४ गते बसेको समितिको बैठकले योजना छनौट र रकम बाँडफाँड गरेको हो ।