अष्ट्रेलियाको जनसम्पर्क समिति एकजुट हुने

अष्ट्रेलियाको जनसम्पर्क समिति एकजुट हुने


■ राजन घिमिरे, सिड्नी (अष्ट्रेलिया)

नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा रहँदै आएको अन्यौल र अष्पष्टता हट्ने सम्भावना बढेको छ । कृष्ण गिरी संयोजक रहने गरी नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट १५ सदस्यीय अधिवेशन तयारी समिति गठन गर्ने पत्रसहित गिरीको नाममा निर्देशन जारी भएपछि यस्तो सम्भावना देखिएको हो ।

पार्टी केन्द्रिय कार्यालयबाट प्राप्त निर्देशन–पत्रको बारेमा संयोजक गिरीले आइतबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएका थिए ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर रहेको पत्रमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियामा पार्टीका कृयाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गरी बढीमा ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्नका लागि कृष्ण गिरीको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन तयारी समिति गठन गर्नेुपर्ने उल्लेख गरिएको छ ।

पार्टीबाट आधिकारिक पत्र पाएपछि संयोजक गिरीले पार्टीको धारणा र निर्देशनअनुसार अष्ट्रेलियामा जनसम्पर्क समिति विस्तार हुने मात्र नभई सिमिति बलियो र एकजुट भएर अगाडि बढ्नेसमेत दाबी गरे ।