कांग्रेसको प्रचार कार्यालय उद्घाटन

कांग्रेसको प्रचार कार्यालय उद्घाटन


■ कमल पौडेल अथक, पोखरा

नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को चुनावी प्रचार अभियानअन्तर्गत आइतबार (२४ कात्तिक) पोखराका विभिन्न स्थानमा सम्पर्क कार्यालयहरु उद्घाटन गरिएको छ । पोखरा ४, १६ र वडा नं १७ मा चुनावी प्रचार कार्यालय उद्घाटन गरिएको हो ।

पोखरा ४ मा संयोजक पूर्वमन्त्री यज्ञबहादुर थापा, वडा नं १७ मा पार्टी सभापति कृष्ण केसी र वडा नं १६ मा स्वयं उम्मेदवार खेमराज पौडेलले प्रचार कार्यालयको उद्घाटन गरेका हुन् ।

वडा नं १६ मा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले देशको राजनीतिलाई सदाचारतर्फ उन्मूख गराउन आफ्नो उम्मेदवारी भएको बताए । उनले यो चुनावमा आफूले जितेर सरकारमा कुनै फरक नपरे पनि भ्रष्टिकरणमा लागेको राजनीतिलाई गतिलो सन्देश सिकाउन सकिने दाबी गरे ।

आफू उमेरले पाको भएपनि विचारले पाको नभएको बताउँदै उनले जिन्दगीभरिको त्याग र तपस्याअनुसार पार्टीले विश्वास गरेर टिकट दिएको जानकारी दिए । पौडेलले वर्तमान सरकारले जनहितमा काम गर्न नसकेको आरोप लगाउँदै जनताले कांग्रेसलाई मतदान गर्ने धारणा राखे ।

सो अवसरमा बोल्दै महासमिति सदस्य देवराज चालिसेले नेपालका ठूला काण्डहरु एनसेल, वाइडवडी, बुढीगण्डकी जस्ता अर्बौंका भ्रष्टाचारविरुद्ध अब कास्कीका जनता एक हुने दाबी गरे । नेपाली जनताले बंशको राजनीति निको नमान्ने उल्लेख गर्दै उनले भ्रष्टाचार जोगाउने खेलको आफ्नो अभिमत मार्फत भण्डाफोर गर्ने बताए ।

वडा इकाई अध्यक्ष दीननाथ आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य कुमार खड्का, नेता पदमसिंह गुरुङ, नारायणी तिमिल्सिना र सचिव बलराम आचार्यले मन्तव्य दिएका थिए ।

यसैगरी उम्मेदवार पौडेलले लौहपुरुष गणेशमान सिंहको १ सय ५ औं जन्मजयन्तिको अवसरमा पोखराको नालाको मुखमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरी प्रचार अभियानको सुरुवात गरे ।

क्षेत्र नं २ का सभापति माधवप्रसाद वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व कानूनमन्त्री यज्ञबहादुर थापा, नेता निर्मल कर्माचार्य र नेतृ गायत्री पराजुली लगायतले बोलेका थिए ।