नेताजी, पुतली र म

नेताजी, पुतली र म


■ नारायण खनाल

म सानो छँदा
टालाटुली बटुलेर
मेरी आमाले मलाई
पुतली बनाइदिनुहुन्थ्यो
चिरिच्याँट्ट पुतली देखेर
औधि खुसी हुन्थेँ म
बुर्कुसी मार्दै साने र च्यान्टीलाई
देखाउन जान्थेँ
पुतली देखेर साथीहरू डाहा गर्थे
मेरी आमाको सीपलाई ‘आहा !’ भन्थे
साँच्चै माया गरेर
खाँदा, सुत्दा र हिँड्दा सँगसँगै
राख्थेँ पुतलीलाई ।
तर, मैले जति माया गरे पनि
आफूले कहिल्यै माया गर्न जानिनँ पुतली
साथ, सहयोग, आत्मीयताको भावविहीन
कपडाको कला मात्रै थियोे मेरो पुतली
न अन्यायमा रिसाउँथ्यो
न न्यायको, खुसीको, प्रेमको
जितको, सत्यको अनुभव गथ्र्यो
अर्कैसँग उठेको रिस पोख्न
चिमोट्दा, मर्काउँदा, लुछ्दा
हिर्काउँदा पनि पीडाबोधले
आँसुका झरना कहिल्यै बगाएन पुतलीले !
नेताजी र मेरो साइनो पनि
उस्तै छ आज
नेताजीले लुछ्दा, चुट्दा, टुक्र्याउँदा पनि
केही गर्न सक्तिनँ म
अनेक कानुनका धारा र
अनुशासनका तगारा
जुन म र म जस्तालाई मात्रै लाग्छन्
तिनै देखेर
पुतलीजस्तै चुपचाप सहिदिन्छु
मैले गरेको मायाको साटो
नेताजीले कुर्सीमा पुग्ने
सिँढीको खुड्किला सम्झी
मेरै ढाडमा, ढाडै भाँच्चिने गरी टेक्छन्
तैपनि, म उनकै पछि लाग्छु
मजस्ताको चोखो साथले
नेताजी
राष्ट्रको माथिल्लो ओहदामा पुगेर
ढुकुटी लुट्ने र आपराधिक क्रियाकलाप गर्ने
बाटो मात्रै देख्छन्
पुतली र नेताजीमा यही त फरक छ
पुतली निर्जीव छ, अबोध देखिन्छ
नेताजी सजीव भएर पनि
सत्य बन्न सक्दैनन्
हो, पुतलीले मेरो भाका कहिल्यै बुझेन
ऊ अन्याय÷अत्याचारमा संलग्न त हुने थिएन
तर सत्यता, पवित्रता छुट्याउन नसक्ने मुढ थियोे
जनताको त्यागको हिसाबले
नेताजी पनि मुढ नै छन्
र प्रवृत्तिका हिसाबले दुष्ट पनि
जनताको आस्था, विश्वास, भरोसा र
साथ बुझ्न नसक्ने ढुङ्गाजस्तै ।
मेरो पुतलीले मलाई कहिल्यै बिगारेन
तर नेताजी
जनताले रगतसँग
साटेर ल्याएको व्यवस्थालाई
आफैँले रजाइँ गर्ने थलो बनाए
राष्ट्रको समृद्धिको सोच
कहिल्यै नपलाउने
नेताजीको खोपडी र
मेरो पुतलीको टाउको ठ्याक्कै उस्तै छन्
म र मजस्ता जनताको मन बुझ्न नसक्ने नेताजी
र, मेरो माया बुझ्न नसक्ने पुतली उस्तै–दुरुस्तै छन्
पुतलीलाई साथी बनाएर रम्ने म
नेताजीबाट समृद्धिको आशा गर्ने जनता
ठ्याक्कै उस्तै, प्रकृति र परिवेश फरक
तर काम र व्यवहारमा दुरुस्तै छन्, दुरुस्तै !

– मालारानी गाउँपालिका–३, अर्घाखाँची